तपाईँ सुन्दै हुनुहुन्छः

तानसेनको मेयरमा काँग्रेसका श्रेष्ठ र उपमेयरमा माओवादीकी सिंजाली विजयी

पाल्पा । पाल्पा जिल्ला सदरमुकाम तानसेनमा नेपाली काँग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ नगर प्रमुखमा विजयी हुनुभएको छ । यस्तै उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रकी प्रतीक्षा सिंजाली विजयी हुनुभयो ।

पाँच दलीय गठबन्धनका तर्फबाट विजयी सन्तोषलाल श्रेष्ठ ११ हजार २ सय ७३ मत प्राप्त गरी विजयी हुनुभएको हो । निकटतम प्रतिस्पर्धी नेकपा एमाले पाल्पाका अध्यक्ष समेत रहनुभएका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत प्राप्त गर्नुभयो ।

यस्तै उपप्रमुखमा माओवादीकी प्रतीक्षा सिंजालीले ११ हजार १ सय ५१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शशी श्रेष्ठले १० हजार ३ सय ७२ मत प्राप्त गर्नुभयो ।

कुल १४ वटा वडा रहेको तानसेन नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७, ११ र १२ मा नेपाली कांग्रेस विजयी भएको छ । यस्तै वडा नं. ८, ९, १० र १४ मा नेकपा एमाले विजयी हुँदा वडा नं. १३ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

कुल ३३ हजार ७ सय ६९ मतदाता रहेको तानसेनमा २३ हजार २ सय ५३ मत खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button