बरेङ र निसिखाेलामा गठबन्धन विजयी

बागलुङ । बागलुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा दोस्रो कार्यकालको लागि पुनः निर्वाचित हुनुभएको छ। पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका शर्मा ३ हजार ६ सय १ मत सहित निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदिप थापा मगरले २ हजार २ सय ३२ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका दिलिप कुमार पुनले ३ हजार ६ सय ८२ मत सहित विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गा कार्की थापा क्षेत्रीले १ हजार ९ सय ५५ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै निसिखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका सुर्य बहादुर घर्ती ५ हजार ५ सय ११ मत सहित निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिद्धन्दि नेकपा एमालेका भूमिराज घर्तीले २ हजार ६ सय ३९ मत प्राप्त गर्नुभएको छ। त्यस्तै उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेम बहादुर घर्ती मगर ५ हजार मत सहित विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्धन्दि नेकपा एमालेका भोटु चन्दले २ हजार ९ सय ८ मत प्राप्त गर्नुभएको छ।
बागलुङका कुल ८५ वडा मध्ये हाल सम्म ६० ओटा वडाको नतिजा सार्वजनिक भएको छ। जसमध्ये नेपाली काँग्रेसले २६ वडा जितेको छ भने नेकपा माओवादी केन्द्रले १४, एमालेले १०, राष्ट्रिय जनमोर्चाले ८, एकिकृत समाजवादीले १ र स्वतन्त्र १ ले वडाध्यक्ष जितेका छन्।
बागलुङका १० पालिका मध्ये ५ वटा पालिकाको मत परिणाम सार्वजनिक भैसकेको छ। मतपरिणम सार्वजनिक भएका सबै पालिकामा गठबन्धनले जितेको छ। जस अनुसार तमानखोला गाउँपालिका, निसिखोला गाउँपालिका र गलकोट नगरपालिका नेपाली काँग्रेसले हात पारेको छ भने ताराखोला गाउँपालिका नेकपा माओवादी केन्द्र र बरेङ गाउँपालिका राष्ट्रिय जनमोर्चाले जित हासिल गरेको हो। मत गणना चलिरहेको ढोरपाटन नगरपालिकामा एमालेले लिड गरिरहेको छ भने अन्य पालिकामा गठबन्धनका उमेदवारहरु अग्रस्थानमा रहेका छन्।








प्रतिक्रिया राख्नुहोस्