निजगढमा अन्तराष्ट्रिय विमानस्थल बन्ने प्रकृया शुरु भई सकेको छ : पर्यटनमन्त्री भट्टराई

बीरगंज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा अन्तराष्ट्रिय विमानस्थल बन्ने प्रकृया सुरु भएको बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सम्बन्धमा बाराको टागिया बस्तीको स्थलगत अवलोकनपछि स्थानीय सरोकारवालहरुसँग आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सरकारले छिट्टै टाँगिया बस्ती स्थानान्तरण र मुआब्जा वितरणमा ठोस निर्णय गर्ने बताउनुभयो ।
उहाँले आन्तरिक रुपमा विमानस्थल निर्माणको कामलाई सरकारले गति दिएको बताउदै निजगढमा विमानस्थल बन्ने कुरा सुनिश्चत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एकीकृत प्रस्ताव बनाएर मन्त्रिपरिषद् लैजाने तयारी गरि रहेको खुलासा गर्नुभयो ।
विमानस्थलको ईआईए गरेर वन मन्त्रालयमा पठाईएको र मन्त्रालयले अध्ययन गरेर अब छिट्टै दुवै मन्त्रालयस्तरमा सहमति गरी एकीकृत प्रस्ताव तयारी पारेर मन्त्रिपरिषदमा लैजाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले बताउनुभयो ।
उहाँले मन्त्रिपरिषदले प्रस्ताव पास गरेपछि विमानस्थल बन्ने सुनिश्चित हुने दावी गर्दै निजगढको भन्दा धेरै जग्गा कोल्वीको पर्छ, जीतपुरसिमरा नगरपालिकाको पनि पछर्, त्यसैले पछि कुनै विवाद नहोस् भनी निजगढ नाम परिवर्तन गरेर बारा अन्तर्राष्ट्रिय विमान स्थल राख्न छलफल चलाईएको समेत खुलासा गर्नुभयो ।
उहाँले विमानस्थल निर्माणका लागि रुख काटिदा पर्यावरणमा असर गर्ने भन्दै अनावश्यक हल्ला गरेर विमान स्थल निर्माणमा अवरोध सृजना गर्न खोजिए पनि विमानस्थल निर्माणका लागि सबै राजनीतिक दल एकमत रहेको कारण समस्या नरहेको दाबी गर्नुभयो ।
कार्यक्रममा पर्यटन राज्यमन्त्री धनबहादुर बुढामगर, पर्यटन सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन विभागका महानिर्देशक राजन पोखरेल, आयोजना प्रमुख प्रदीप अधिकारी, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, संघीय सांसद रामबाबु यादव, रामसहाय यादव , पूर्वसभासद जयराम दाहाल, गोपाल ठाकुर, बलवीर चौधरी, प्रदेश सभा सदस्य ज्वाला साह, त्रिलोकी चौधरी, सुन्दर विक, सीता गुरुङ, सारदाशंकरप्रसाद कलवार, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेल, कोल्हवी नगरपालिकाका मेयर भरतबहादुर भण्डारी, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल लगायतको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्