तपाईँ सुन्दै हुनुहुन्छः

काम नगर्ने ठेकदारलाई कारवाही गर्छौ : नेता पौडेल

गलकोट। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङदेखि घोडाबाँधे क्षेत्रको सडक अलपत्र पार्ने ठेकेदारलाई सरकारले कारवाही गर्ने चेतावनी दिनुभएको छ ।
वाम गठबन्धनले बडिगाड गाउँपालिका– २ दनियामा आज आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै विकास आयोजनामा ढिला हुनुमा सरकार मात्रै दोषी नहुने भन्दै सङ्घीय सांसद तथा नेकपा स्कूल विभागका उपप्रमुखसमेत रहनुभएका पौडेलले ठेकेदारलाई कानूनी कठघरामा उभ्याउन सरकार पछि नहट्ने बताउनुभयो ।

अछेते घोडाबाँधे सडकको ठेक्का पाएको सूर्य कन्ट्रक्सन टाट पल्टिएपछि अहिले लोकमार्गको १२ किलोमिटर सडक अलपत्रजस्तै भएको छ । उहाँले देशको सार्वभौमिकता र सीमाका सन्दर्भमा विगतका आफ्ना नेताका भूमिकालाई हेर्न काङ्ग्रेस कार्यकर्तालाई आग्रह गर्दै नेकपाप्रति भ्रम नफैलाउन चेतावनी दिनुभयो । उहाँले सरकारले कूटनीतिक माध्यमबाट सबै समस्या समाधान गर्ने बताउनुभयो ।

वर्तमान सरकारले लोडसेडिङ अन्त्य गरेको, झण्डै सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको, सुरुङमार्ग शुरु गरेको भन्दै उहाँले दर्जन बढी कामको फेहरिस्त सुनाउनुभएको थियो । कार्यक्रममा वडाध्यक्षका प्रत्यासी ढालप्रसाद शेरचन (ढालेन्द्र) ले आफू निरन्तर समाज सेवामा लागेको र थप जिम्मेवारीसहित विकासका लागि केन्द्रीय पहुँचसहित काम गर्न आफ्नो उम्मेदवारी भएको भन्दै आफूलाई मत दिन मतदातालाई आह्वान गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय निकायको निर्वाचन विसं २०४९ र २०५४ मा कम्युनिष्टका तर्फबाट वडामा निर्वाचित वडाध्यक्ष तथा सदस्यलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि पौडेलले दोसल्ला ओढाएर सबैलाई सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button