तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धनको हितको रक्षा गर्नु आफ्नो दायित्व: प्रधानमन्त्री देउवा

जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले लोकतन्त्र र सङ्घीयताको रक्षा एवं विकासका लागि गठबन्धनको भावना अनुसार नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकार अगाडी बढेको बताउनुभएको छ ।

पाँच दलीय गठबन्धनले आज जनकपुरधामको तिरहुतीय गाछीमा आयोजना गरेको चुनावी सभामा प्रधानमन्त्री देउवाले पाँच दलको गठबन्धनले आफूलाई प्रधानमन्त्री बनाएकाले गठबन्धनको हितको रक्षा गर्नु आफ्नो कर्तव्य भएको बताउनुभयो ।

उहाँले गठबन्धनको भावना अनुसार पार्टी सञ्चालन गर्न काँग्रेसको महाधिवेशनले म्याण्डेड दिएको उल्लेख गर्नुहुँदै गठबन्धनको निर्णय विरुद्ध हुनेलाई पार्टीको साधारण सदस्यताबाट हटाइएको तथा अब गठबन्धन विरुद्ध बोल्नेमाथि कारबाही हुने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आमा बुबाको नागरिकता भएको कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित नहुने बताउनुहुँदै नागरिकता समस्याको चाँडो समाधान गरिने बताउनुभयो । उहाँले मधेशी जनताको भावना अनुसार संविधान संशोधन हुने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको विकास तथा सङ्घीयताको भावना मजबुत बनाउन गठबन्धनलाई दीर्घकालसम्म टिकाउन जरुरी रहेकोले कमजोर पार्ने कसैको अभीष्ट पुरा नहुने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन लोकतन्त्रको रक्षा तथा देशको विकासका लागि भएको बताउनुहुँदै प्रदेश र सङ्घीय चुनाव हुँदै दीर्घकालसम्म टिकाई राख्न जरुरी रहेकोमा जोड दिनुभयो ।

उहाँले झन्डै दुई तिहाइको सरकारले संविधान र कानून, लोकतान्त्रिक मूल्य र मान्यता विपरीत प्रतिनिधि सभालाई विघटन गरेर मुलुकमा निरङ्कुश तानाशाही व्यवस्था लाद्न खोजेकाले नै अहिलेको गठबन्धन बनेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले नागरिकता समस्याको समाधान अब बस्ने संसद्को बैठकबाट अवरोध भए पनि समाधान गर्न सरकार अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र तथा सङ्घीयताको रक्षाका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक भएको बताउनुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा स्थिरता, विकास तथा समृद्धिको बाटोमा मुलुकलाई लानका लागि गठबन्धनको आवश्यकता रहेको बताउनुहुँदै गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपिल गर्नुभयो ।

नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारको अध्यक्षतामा भएको चुनावी सभामा नेपाली काँग्रेसका सह–महामन्त्री द्वय भीष्मराज आङ्गदाम्बे र महेन्द्र यादव, नेकपा माओवादी केन्द्र मधेश प्रदेशका इन्चार्ज गणेश साह, जनता समाजवादी पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार लालकिशोर साह र नेपाली काँग्रेसका तर्फबाट उपमेयर पदका उम्मेदवार किशोरी साहले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button