स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

काठमाडौं ।आगामी वैशाख ३० गते शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ ।
निर्वाचन आयोगको आइतवारको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्य १८३ मतदाता कायम गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
आयोगका अनुसार सबैभन्दा बढी मतदाता सात लाख १५ हजार २२३ भएको जिल्ला मोरङ हो भने सबैभन्दा कम छ हजार ४१६ मनाङमा मतदाता छन् । धेरै मतदाता हुने जिल्लामा मोरङ, झापा र काठमाडौँ छन् भने थोरै हुनेमा जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा छन् ।
मतदाता नामावलीमा नाम समावेश भएका आगामी वैशाख २९ गते १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने यस पटक नयाँ व्यवस्था गरिएको छ ।
उक्त निर्वाचनका लागि मतदान स्थल १० हजार ७५६ र मतदान केन्द्र २१ हजार ९५५ कायम गरिएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्