१ सय ५ सहिद परिवारलाई १ लाखको दरले राहत प्रदान
जनकपुरधाम । मधेस प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले १० वर्षे माओवादी जनयुद्धका क्रममा शहादत प्राप्त गरेका धनुषाका १ सय ५ सहिद परिवारलाई राहत वितरण गरेको छ ।
मधेस सरकारले मधेसी सहिद प्रतिष्ठान मार्फत प्रति सहिद परिवारलाई सम्मानपत्र सहित १ लाखको चेक प्रदान गरेको हो । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री मातृका प्रसाद यादवले सहिद परिवारलाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।

धनुषामा मात्र माओवादी जनयुद्धका क्रममा राज्य पक्षबाट १ सय १८ जनाको मृत्यु भएकोमा करिब करिब सबै सहिद परिवारलाई मधेस प्रदेश सरकारले पहिलो चरणमा १ लाखको दरले रकम प्रदान गरेको सहिद परिवारका सदस्य श्रीनारायण प्रतिहस्तले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले मधेस प्रदेश सरकारले माओवादी जनयुद्धका क्रममा शहादत भएका परिवारलाई राहत प्रदान गरेर सहिदको सम्मान गरेकोमा बधाई दिँदै आफू पनि सहिदहरूको तस्बिर सहितको उद्यान निर्माण गराउन लागेको बताउनुभयो ।
उहाँले सहिदहरूका कारणले मुलुकमा सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षता तथा राज्यमा जनताको सहभागिता बढेकोमा खुसी व्यक्त गर्दै केही तत्त्व सङ्घीयता सहितको उपलब्धिहरू समाप्त पार्ने खेलमा लागिपरेको बताउनुभयो ।

कार्यक्रमका सभापति मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले मधेस आन्दोलन तथा माओवादी जनविद्रोहको क्रममा शहादत भएका सहिद परिवारलाई पहिलो चरणमा ८ वटै जिल्लामा १ लाखका दरले राहत प्रदान गर्ने निर्णय अनुसार राहत प्रदान गरिएको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले सहिद परिवारलाई न्यून शुल्कमा उपचार, आश्रित परिवारका सन्तानलाई छात्रवृत्ति तथा अन्य सहयोगको कार्यक्रमहरू सञ्चालन गर्ने पक्षमा सरकार रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्