तपाईँ सुन्दै हुनुहुन्छः

‘गठबन्धनको आवश्यकता अहिले पनि उतिकै छ’

विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारमा सहभागी दलहरूबिच गठबन्धनको आवश्यकता अहिले पनि उतिकै रहेको बताउनुभएको छ ।

विराटनगरमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकको स्थायित्व र आन्तरिक एकता तथा सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

जुन परिस्थितिमा जुन उद्देश्यका साथ गठबन्धन निमार्ण भएको थियो त्यो परिस्थिति अहिले पनि कायममै रहेको उहाँको भनाई थियो । निर्वाचनमा औचित्य र आधार हेरेर गठबन्धनबिच तालमेल हुने उहाँले बताउनुभयो ।

स्थानीय निर्वाचनका विषयमा कसरी जाने भन्नका लागि नेपाली काँग्रेसका केन्द्रिय समितिको बैठक सम्पन्न भएसँगै निर्वाचनका लागि नयाँ सन्देश जाने उहाँको भनाई थियो ।

आउने तिनै तहको निर्वाचनमा काँग्रेसलाई सबैभन्दा ठुलो र शक्तिशाली पार्टी बनाउने सङ्कल्पका साथ पार्टी नेता कार्यकर्ता अनुशासित भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

एक प्रश्नमा उहाँले नेपालमा चिनियाँ विदेश मन्त्रीको भ्रमण हुनु खुसीको कुरा भएको उल्लेख गर्दै मुलुकको विकासको निम्ति छिमेकी राष्ट्र लगायत अन्य दातृ राष्ट्रहरूको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button