तपाईँ सुन्दै हुनुहुन्छः

जितपुर सिमरा र कलैया दुई उपमहानगर भ्रष्टाचारको उजुरी पर्ने सुचीमा अग्रस्थानमा

बारा । बाराको जितपुर सिमरा र कलैया दुई उपमहानगर भ्रष्टाचारको उजुरी पर्ने स्थानीय तहको सुचीमा अग्रस्थानमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले बाराको कलैयामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन अन्तरक्रियामा सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी उजुरीको तथ्याङ्कमा मधेस प्रदेशमै बाराको जितपुर सिमरा र कलैया दुई उपमहानगर पहिलो र दोस्रो स्थानमा रहेका हुन्  ।

सार्वजनिक तथ्याङ्कको आधारमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जितपुर सिमरा उपमहानगरको ७६ भ्रष्टाचारका उजुरीमध्ये ३७ वटा फर्छ्यौट भएको र बाँकी गम्भीर प्रकृतिका तथ्य सहितको उजुरी रहेकोले अनुसन्धानको क्रममा रहेको छ भने कलैया उपमहानगरको ५४ उजुरी मध्ये २९ उजुरी फर्छ्यौट भएको र २५ उजुरी फर्छ्यौट हुन बाँकी रहेको जनाइएको छ ।

यसअघि प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा कम अङ्क ल्याउने पालिकामध्ये जितपुर सिमरा उपमहानगर दोस्रो स्थानमा रहेको र कलैया उपमहानगरले ५० अङ्क समेत ल्याउन नसकेको तथ्याङ्क सार्वजनिक भइसकेको छ ।

आर्थिक बर्ष २०७७÷०७८ मा आएको कुल उजुरी ९ सय २९ मध्ये पहिलो बनेको बारामा मात्र ३ सय ४ उजुरी परेको छ । चालु आर्थिक वर्षमा बारामा ३ सय २६ उजुरी परी एक नम्बरमा रहेको छ । 

दोस्रोमा रौतहट ३ सय ३ उजुरी रहेको छ भने तेस्रो स्थानमा रहेको मकवानपुरमा  २ सय ५२ वटा उजुरी परेको छ । 

अख्तियार  दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय अन्तर्गत बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन, रामेछाप, धादिङ, दोलखा, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा, काठमाडौँ, भक्तपुर, धनुषा गरी १५ जिल्ला पर्दछन् । 

आयोगको पछिल्लो निर्णय अनुसार बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा गरी ११ वटा जिल्ला परेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button