तपाईँ सुन्दै हुनुहुन्छः

संसदमा सडक दुर्घटनादेखि परीक्षा नतिजासम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सडक दुर्घटना न्युनिकरण,  कक्षा १२ को परीक्षाफललाई लिएर उत्पन्न समस्या समाधान तथा ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायलाई समेत जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरुले सवारी दुर्घटना हुँदा सवारी साधन व्याक गरेर मानिस मार्ने र दुर्घटना मानेर केस मिलाउने घटना दोहोरिने गरेको भन्दै यस्ता कार्य तुरुन्त निरुत्साहित गर्नेगरी ऐनको व्यवस्थापन गर्न माग गर्नुभयो । 

सासदहरुले राष्ट्रिय परीक्षा बोर्डको लापरवाहीका कारण लाखौँ विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले राष्ट्रिय परीक्षा बोर्डले एसइई र कक्षा बाह्रको नतिजा हतार हतारमा सार्वजनिक गरेर जस लिने होडमा पर्याप्त तयारी र गुणस्तर परीक्षण नगरिँदा उत्कृष्ट विद्यार्थीहरूको नतिजामा समेत ननग्रेडेड देखिनु दुःखद भएको बताउनुभयो ।  

सांसदहरुले एन्फा अनिश्चित कालका लागि फिफाबाट निलम्बनमा परेको विषयले राष्ट्रको प्रतिष्ठामा धक्का पुगेको र खेलाडीहरूलाई निरुत्साहित बनाएको भन्दै छिटो भन्दा निलम्बन फुकुवा लागि प्रक्रिया अगाडी बढाउन माग गर्नुभयो ।

नागरिकलाई मात्र कानुनको दायरामा ल्याउने अभ्यास अन्त्य गर्दै राज्यका निकायलाई पनि जिम्मेवार बनाउने कानुन आवश्यक रहेको बताउनुभयो ।

सांसदहरुले  सडक, ट्राफिक व्यवस्थापन र सरकारी सेवामा लापरबाही भए राज्य तथा सम्बन्धित निकायलाई आर्थिक जरिवाना गर्ने कानुनी व्यवस्था ल्याउन सरकारसँग माग गर्नुभयो । 

सांसदहरुले गर्मी र वर्षा यामसँगै ग्रामीण भेगमा सर्पदंश र भुसिया कुकुरको टोकाइको घटना बढ्ने गरेको भएपनि स्थानीय स्वास्थ्य चौकीमा सामान्य औषधी समेत नपाउने र अन्य अस्पतालमा रिफर गर्दा बिरामीहरूको मृत्यु हुने गरेको भन्दै स्थानीय अस्पतालमा औषधी, तालिमप्राप्त स्वास्थ्यकर्मी लगायतको व्यवस्थापन गर्न माग गर्नुभयो ।

सांसदहरुले बिपी राजमार्गको रोशी खोलामा जोखिम मोलेर यातायात सञ्चालन भइरहेको भन्दै वर्षायाम लागिसकेकाले दुर्घटना भएपछि पछुताउनुभन्दा समयमा नै दुर्घटना रोक्ने विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button