तपाईँ सुन्दै हुनुहुन्छः

दशौँ दिनसम्म लाग्ने प्रसिद्ध केदारनाथ मेलाका नवौँ दिन आज धामी खला नाच्ने

अछाम – लगातार १० दिनसम्म चल्ने अछाम जिल्लाको एकमात्र केदारनाथ मेलाको नवौँ दिन आज धामी खला नाच्ने भएका छन् । कार्तिक शुक्ल पञ्चमीदेखि चत्र्रुदशिसम्म केदारनाथ देवताको पुजा आजा गरी मनाईने यस मेलालाई जामाको जात्रा नामले पनि पुकारने गरिन्छ ।

अछाम जिल्ला कमलबजार नगरपालिका वडा नम्बर ७ जामा गाउँमा लाग्ने यस मेलाको आज मुख्य दिनसमेत हो । आईतबार राती देवताको धेवर (पुजाआजा)सहित २५ गते मन्दिरमा होम हुने भएको छ ।

मेलाले छुट्टै महत्व बोकेको यस क्षेत्रका जानकारहरु बताउँछन् । लगातार १० दिनसम्म केदारनाथ र छडाल देवताको धेवर लगाई त्रयोदशीका दिन खला नाच्ने छडाल देवताका धामी झंकरे ढोलीले बताउनुभयो । डोटेली सँस्कृतिमा आधारित देवता नाच हेर्न छिमेकी जिल्ला डोटी, सुर्खेत, दैलेख र कैलालीबाट समेत दर्शनार्थीहरुको घुईचो लाग्ने पुजारी मनिराम खतिवडाले जानकारी दिनुभयो ।

जिल्लाको तल्लो भैसोले क्षेत्रको अन्तिम तथा महत्वपुर्ण मेला भएकोले पनि यसको महत्व बढेका हो । केदारनाथ देवताको पुजापाठ गर्दा अन्न, सन्तान र पशुलाभ हुने गरेको मुल धामी ईन्द्रे कामीले बताउनुभएको छ । धार्मिक तथा साँस्कृतिक महत्वका यस्ता चाडपर्वको प्रचार प्रसार गरी पर्यटकहरु आर्कषण गर्न सके यस क्षेत्रको विकासलाई गति दिन सबैले ध्यान दिनु पर्ने स्थानीय अगुवा पदम बहादुर भण्डारीको भनाई छ ।

मेलाको अर्को पक्ष भनेको दलित समुदायका धामी र बाहुन समुदायका पुजारी रहेका छन् । कुनै जातिय भेदभाव बिना पुजाआजा हुने गर्दछ । साथै देवताको शिलामा दुध चढाईने गरिन्छ । लामो समयसम्म मेला लाग्ने भएपनि कुनै पनि पशुबलि बिना देवताको पुजाआज गर्ने गरिन्छ । आजकै दिन डोटीको खतिवडा तथा कैलालीको कट्टीपुरमा पनि मेला लाग्ने गर्दछ ।

यस क्षेत्रबाट बसाई सरी गएकाहरुले कैलालीको कट्टीपुरमा मेलाको आयोजना गर्ने गरेका त्यहाँबाट भीम खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button