तपाईँ सुन्दै हुनुहुन्छः

चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ लैजाने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले तोकेको समय चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ लैजाने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

आज सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्नुहुँदै चैत मसान्तसम्म जसरी पानी काठमाडौँ पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन दिनुभएको हो । 

मन्त्री चौधरीसँगै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा , मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेललगायत मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल अम्बाथान पुग्नुभएको थियो । 

निरीक्षणका क्रममा मन्त्री चौधरिले केही दिन अघि ठेकेदारले केही समय काम रोकेको भन्दै उहाँले भुक्तानी समयमै गर्न सरकार तयार रहेको तर कुनै पनि बहानामा काम ढिलो हुन नहुने बताउनुभयो । उहाँले डलरमा रकम भुक्तानी गर्न केही समय लागेको तर नेपाली रुपैयाँ सरकारले ठेकेदारलाई सम्झौता अनुसार भुक्तानी गरिरहेको बताउनुभयो ।

स्थानीय प्रभावित, बाढी प्रभावितको मागमा मन्त्रालय , खानेपानी विकास समिति र सरोकारवाला सरकारी निकाय सकारात्मक रहेको बताउनुहुँदै उहाँले उचित माग पूरा गरिने तर काम बन्द गर्ने काम कसैले गर्न नहुनेमा जोड दिनुभयो ।

उहाँले ठेकेदार कम्पनीले काम सुरु गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले त्यही अनुसार काम हुनुपर्नेमा जोड दिनुभयो ।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदम बहादुर कुवरले अहिले भइरहेको कामको गति चित्तबुझ्दो रहेको भन्नुहुँदै अम्बाथान पोर्टल अडिटमा सोचेभन्दा बढी गेग्र्यान थुप्रिएकाले व्यवस्थापनमा केही समय बढी लागेको बताउनुभयो ।  उहाँले सरकारको लक्ष्य अनुसार चैत मसान्तसम्म पानी काठमाडौँ लाने गरिनै काम भइरहेको बताउनुभयो। उहाँले मुहानमा थुप्रिएको पहिरो र गेग्र्यान सरसफाइको काम ७० प्रतिशत सकिएको जानकारी दिनुभयो ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय बाढी प्रभावितलाई घर बनाउन ५ लाखले नपुग्ने भन्दै रकम थप गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले सामाजिक उत्थान कार्यक्रमको रकम सम्बन्धित पालिकामा पठाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button