राष्ट्रपति भण्डारी र साउदी अरबका परराष्ट्रमन्त्रीबीच भेटघाट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र साउदी अरबका परराष्ट्रमन्त्री His Highness Prince Faisal Bin Farhan Al Saud बीच राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटघाटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

नेपाल र साउदी अरेबिया बीच १५ मार्च १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीचको सुमधुर सम्बन्ध उच्चस्तरमा हुने यस्ता भ्रमणले अझ सुदृढ हुँदै गएको छ भने शान्तिपूर्ण सहअस्तित्व, मैत्री र सहयोगका पाँच सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध घनीभूत हुँदै गएको छ । दुवै राष्ट्रले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तप्रति प्रतिबद्ध प्रतिबद्धता र निष्ठा व्यक्त गरेका छन् र मानव जातिको साझा हितका लागि उक्त विश्व संस्थालगायत अन्य अन्तर्राष्ट्रिय मञ्चमा मिलेर काम गर्दै आएका छन् ।
एक दशकअघि साउदी अरबमा नेपाली कामदारले रोजगारीका अवसर पाएपछि दुई देशका जनताबीचको सम्बन्ध बिस्तारै बढ्दै गएको छ । चार लाखभन्दा बढी नेपालीले साउदी अरबमा श्रम गरिरहेको वर्तमान सन्दर्भमा भएको विदेशमन्त्रीको भ्रमणले नेपाली आप्रवासी कामदारका सेवा सुविधा र अवसरमा बढोत्तरी हुने अपेक्षा गरिएको छ ।
नेपालीको कामप्रतिको समर्पण, निष्ठा, इमान्दारिताको साउदीका जनताले सराहना गरेका छन् जसले रोजगारीको सम्भावनालाई बढाएको छ । कोभिड–१९ को महामारीका बेला पनि साउदी सरकारले उदारतापूर्वक नेपाली कामदारलाई आवागमनलगायत काममा सहजीकरण गरेको थियो ।









प्रतिक्रिया राख्नुहोस्