बेलौरीमा निस्सा वितरण सुरु
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई निस्सा वितरण सुरु गरेको छ ।

राष्ट्रिय भूमि आयोगसँग पहिलो चरणमा पुस २४ गतेका दिन कार्यगत सम्झौता गरेको बेलौरी नगरपालिकाले लगत प्रविष्टि गरी निस्सा वितरणको काम सुरु गरेको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार, भूमि सम्बन्धी समस्या समाधानका लागि बेलौरी नगरपालिकाले समेत कार्यलाई तीव्रता दिएको छ ।
सोमबारदेखि बेलौरी नगरपालिका वडा नम्बर ४ बाट निस्सा वितरणको कार्य सुरु गरिएको र बाँकी वडाहरूमा समेत तीव्र गतिमा लगत प्रविष्टि गर्ने कार्य भइरहेको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखकले जानकारी दिनुभयो ।

बेलौरी नगरपालिका वडा नम्बर ४ ले पहिलो चरणमा ३२५ जना अव्यवस्थित बसोबासीहरूलाई निस्सा वितरण गरेको वडाध्यक्ष अर्जुन ढकालले बताउनुभयो ।
गत वर्ष फाराम भरेका जग्गाधनीहरूले आयोग नै खारेज भएपछि जग्गाधनी प्रमाण पुर्जा पाउने आस मारिसकेका थिए । यद्यपि पुनः आयोग गठन भई निस्सा वितरण गरेसँगै अब फेरि जग्गाधनी प्रमाण पुर्जा पाउनेमा बेलौरी नगरपालिका वडा नम्बर ४ शान्तिपुरका जग्गाधनी हर्मन राना आशावादी देखिनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्