स्थानीय तहको भूमिका जबाफदेहीपूर्ण हुनुपर्छ: प्रधानमन्त्री देउवा
ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको भूमिका संवेदनशील र जबाफदेहीपूर्ण हुनुपर्ने बताउनुभएको छ ।
ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस तथा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले नागरिकको नजिकको सरकार स्थानीय तह भएकाले सीमित साधन स्रोतका बाबजुद जनताको अपेक्षा र भावना बमोजिमको काम गरेर जनताप्रतिको आफ्नो दायित्व र जबाफदेहिता निर्वाह गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले लामो समयको राजनीतिक सङ्क्रमण पार गरेर लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामार्फत देशलाई आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र समतामूलक समाज निर्माणको यात्रा छिट्टै पुरा गरेर गन्तव्यमा पुग्न ढिलो गर्न नहुने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले देश अहिले स्थानीय तहको निर्वाचनको सङ्घारमा रहेकोले आफ्नो मत प्रयोग गरेर जनप्रतिनिधि छनौट गर्दा विगतमा भएका काम र जनताको हितमा गरेका कार्य नै जनप्रतिनिधि छनौटको मुख्य आधार हुने निश्चित हुनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री देउवाले एउटा राजनीतिक दलबाट निर्वाचित भएर आए पनि नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्न सक्नु र विकास निर्माण तथा सेवा प्रवाहमा सबैलाई विना भेदभाव समान पहुँच स्थापित गर्न सक्नु कुशल नेतृत्वको गुण भएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्