तपाईँ सुन्दै हुनुहुन्छः

भवन अभावमा पालो लगाएर सुत्छन् सल्यान कारागारका कैदीबन्दी 

सल्यान । जिल्ला कारागार सल्यानका कैदीबन्दहरु भवनको अभावमा पालो लगाएर सुत्दै आइरहेका छन् । कारागारको क्षमता भन्दा धेरै कैदीबन्दी भएपछि कोलियामा समेत पालो लगाएर सुत्न बाध्य भएका हुन । 

कारागारमा २५ जनाको क्षमता भएको आठ कोठा छन् । जसमध्ये दुईमा महिला र ६ वटामा पुरुष रहेका छन् । कारागारमा २९ महिला, ९८ परुष गरी १ सय १९ कैदीबन्दी र दुई बालक गरी १ सय २१ रहेका छन् । 

रामबहादुर दमाईले कारागारमा ठाउँ साँघुरो भएकाले बाहिर सुत्ने गरेको बताए । ठाउँ थोरै भएको र मान्छे धेरै भएका कारण कोठा भित्र ठाउँ नपुगेपछि दैनिक ११, १२  जना पालो लगाएर बाहिर सुत्ने गरेको उनको भनाई छ । पानी परेको समयमा रात भरी बसेरै रात बिताउनु पर्ने बाध्यता रहेको समेत दमाईको भनाई छ ।

यस्तै अर्का कैदी कमलराज खत्रीले कैदी बन्दीलाई शौचालयको समेत समस्या भएको बताए । ‘भित्र दुई ओटा मात्रै शौचालय छन् उनले भने –‘हामी १ सयको हाराहारीमा हुन्छौँ । बिहान चार बजेदेखि नै लाइन बस्नु पर्ने हुन्छ । कुनै बेला एक दुई जनालाई पखाला लागेमा झनै समस्या हुने गरेको छ ।’

यस्तै महिला कैदी सलिना गहतराजले महिलाहरूका लागि सीपमूलक तालिमको आवश्यकता रहेको बताइन् ।  ‘यहाँ बसेकाहरूले स्थायी जागिर पाउने सम्भावना हुँदैन । उनले भनिन् –‘भित्र बसी रहेको समयमा केही सीप सिक्न पाएको खण्डमा बाहिर निस्किँदा पनि आय आर्जनमा जोडिन सजिलो हुन्थ्यो ।’

चौकीदार निमलाल विष्टले कारागारमा रहेका समस्याबारे कुनै पनि निकायले चासो नदिएको बताइन् ।  कारागारमा जिल्लाका सबै स्थानीय तहका कैदी बन्दीहरू बसे पनि स्थानीय सरकारले कारागारका लागि भनेर अहिलेसम्म केही गर्न नसकेको उनले बताइन् । भवन जीर्ण भएपनि यही अवस्थामा समेत केही सुधार गर्न सकिन्थ्यो उनले भनिन्, तर, कसैले यता चासो दिँदैनन् । कारागारमा बस्नेहरू मान्छे नै होइनन् भन्ने मानसिकता छ ।’

कैदी बन्दीले मानव अधिकारको प्रत्याभूति गर्न नपाएको कारागारका नाइके विष्टले गुनासो गरिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button