तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरूको नाम फागुन २६ गतेभित्र प्रकाशन गरिने

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरूको नाम यही फागुन २६ गतेभित्र प्रकाशन गर्ने भएको छ ।

आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको र फागुन २६ गतेभित्र दलहरूको नाम प्रकाशन गर्ने जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलले फागुन २० गतेदेखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएकाले सो अवधिमा मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिन आग्रह गर्नुभयो ।

स्थानीय तह निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको आयोगले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button