तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा औद्योगिक क्षेत्रको जग्गा खाली गर्न दुई उद्योगलाई अल्टिमेटम

मकवानपुर । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दुई वटा उद्योगलाई जग्गा खाली गर्न अल्टिमेटम दिएको छ । औद्योगिक क्षेत्रमा जग्गा भाडामा लिएर उद्योग सञ्चालन नगर्ने दुई उद्योगलाई जग्गा खाली गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ३५ दिने सूचना जारी गरेको हो । 

वर्षौँदेखि औद्योगिक क्षेत्रको जग्गा भाडामा लिएर उद्योग सञ्चालन नगर्ने क्वालिटी ह्याचरी एण्ड फिड इन्डष्ट्री र साउथ एसियन ब्रुअरी प्रालीलार्ई जग्गा खाली गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ३५ दिने सूचना जारी गरेर जग्गा खाली गर्न भनेको छ । उद्योग सञ्चालन गर्ने वा जग्गा खाली गर्ने स्पष्टीकरण सहित ३५ दिने अल्टिमेटम दिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको व्यवस्थापक राजेन्द्र कँडेलले बताउनुभयो । ३५ दिनभित्र उद्योग सञ्चालन गर्ने आधार लिएर नआएमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकै मातहतमा जग्गा ल्याउने कँडेलले बताउनुभयो । 

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार ९ वटा उद्योगले वर्षौँदेखि जग्गा कब्जा गरे उद्योग सञ्चालनमा चासो दिएका छैनन् । जग्गा सम्झौता गरेको दुई वर्षभित्र उद्योग स्थापना गरिसक्नु पर्ने नियम पालना नगर्ने अन्य उद्योगीलाई समेत कारबाही प्रक्रिया अघि बढाइने कँडेलले बताउनुभयो । २४० बिघा क्षेत्रफलमा फैलिएको हेटौँडा औद्योगिक क्षेत्रको जग्गा ओगटेर उद्योग सञ्चालन नगर्नेमा ठुला व्यवसायीदेखि राजनीतिक दलको नेतासमेत रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button