तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प सुरक्षा दिवसको यस वर्षको मूल कार्यक्रम ललितपुरको पाटन दरबार क्षेत्रमा गरिने

काठमाडौँ । सरकारले प्रत्येक वर्ष मनाउँदै आएको राष्ट्रिय भूकम्प सुरक्षा दिवस अन्तर्गत यस वर्षको मूल कार्यक्रम ललितपुरको पाटन दरबार क्षेत्रमा गर्ने भएको छ । 

२४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस प्रचार–प्रसार उपसमितिले आज पत्रकार सम्मेलन गरेर सो दिवस अन्तर्गतको मूल कार्यक्रम ललितपुरमा गर्ने जानकारी दिएको हो । 

पाटन दरबार क्षेत्रमा माघ २ गते दिउसो २ बजे मुख्य कार्यक्रम गर्न लागिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्म कुमार मैनालीले जानकारी दिनुभयो ।  

भूकम्प जोखिम न्यूनीकरण, प्रतिकार्य, पूर्व तयारी र सुरक्षित भवन निर्माणलगायतका विषयमा विभिन्न संस्थामार्फत देशभर विभिन्न ५२ वटा कार्यक्रम आयोजना गरिने उपसमितिका सदस्य–सचिव रहेको भूकम्प प्रविधि राष्ट्र समाजका निर्देशक गणेश जिमीले जानकारी दिनुभयो । 

‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारा तय गरेको यो दिवस ७ वटै प्रदेश सरकारसहित  ७७ वटै जिल्लामा विभिन्न कार्यक्रमहरू एकसाथ मनाउने उपसमितिले जनाएको छ । 

विक्रम संवत् १९९० सालको महाभूकम्पको स्मृतिमा सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button