वीरगन्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै खबरदारी जुलुस
बीरगंज । वीरगन्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउनुपर्ने माग गर्दै वीरगन्जका युवा महिला तथा नगरवासीहरुले खबरदारी जुलुस प्रदर्शन गरेका छन् ।
समग्र रुपमा देशकै प्रमुख प्रवेशद्वार एवम् आर्थिक नगरीको रुपमा परिचित वीरगन्जलाई पाखा लगाउँदै जनकपुरलाई राजधानी बनाउन खोजेको भन्दै आक्रोशित वीरगन्जवासी सडकमा उत्रिएका हुन् ।
वीरगञ्ज राजधानी कायम गर, विधायकहरू होसियार भन्ने नाराका साथ युवा, महिलासहित वीरगञ्जवासीहरुले वीरगञ्ज बजार परिक्रमा गरेका छन् । मधेस आन्दोलनलाई सार्थक बनाउन वीरगन्जले खेलेको भूमिका र सहिदहरूको बलिदानको मूल्याङ्कन गरेर वीरगन्जलाई प्रदेश २ को राजधानी कायम गर्नुपर्ने माग उनीहरूले गरेका छन् ।

वीरगञ्ज राजधानी बनाउने विपक्षमा उत्रिने प्रदेश सभा सदस्यलाई अब वीरगन्जवासीले नछाड्ने चेतावनी प्रदर्शनमा उत्रिनेहरूले दिएका छन् । जुलुसपछि घण्टाघरमा आयोजित कोण सभालाई सम्बोधन गर्दै वक्ताहरूले मुख्यमन्त्रीको कुर्सी बचाउन वीरगन्जलाई राजधानी बनाउनबाट वञ्चित गरिएको आरोप लगाएका थिए ।
वक्ताहरूले मधेस आन्दोलनमा वीरगन्जले खेलेको भूमिका बिर्सिने नेताहरूलाई जनताले तह लगाउने बताउँदै वीरगन्जलाई नजर अन्दाज गर्ने छुट कसैलाई नभएको चेतावनी दिएका थिए ।
कार्यक्रममा लोसपाका नेता राजेशमान सिंहले आन्दोलनको बेला वीरगन्ज राजधानी बनाउने प्रतिबद्धता जाहेर गरेका मधेसवादी दलका नेताहरूले ६ महिने आन्दोलन वीरगन्जले कसरी थेग्यो बिर्सिन नहुने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रह्लाद गिरी, प्रेम बाबु पटेल, सृजित गिरी, मुकेश द्विवेदी लगायतका वक्ताहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्