तपाईँ सुन्दै हुनुहुन्छः

बूढो रुख काटेर नयाँ रुख रोप्ने दिगो वन व्यवस्थापनले समृद्ध बनाउने योजना

बूढो उमेर भएका सल्लाका रुख काटेर नयाँ रुख रोप्ने योजनाका साथ लहरेखोला जलुके सामुदायिक वन समूह जुटेको छ । जिल्लाको शिवालय गाउँपालिका–१ स्थित लहरेखोला सामुदायिक वनमा अहिले दर्जनौँ सल्लाका रुख काटेर नयाँ बिरुवा रोप्ने अभियान शुरु भएको वडा नं १ का अध्यक्ष मानबहादुर पुनले बताउनुभयो ।

दिगो वन व्यवस्थापन तथा पूर्ण उत्पादन कार्यक्रमअन्तर्गत सो रूख काटिएको उहाँले बताउनुभयो । पुराना, बूढा भएका रुख काटेर समूहको आम्दानी गरी नयाँ रुख रोप्ने अभियान शुरु गरिने उहाँले जानकारी दिनुभयो । जङ्गलमा रुख कुहिएर खेर जाने भएकाले त्यसलाई सहीरूपमा व्यवस्थापन गरी आम्दानीको मुख्य आधार खोजिन लागिएको हो । अहिले रुख काटेर छेडा–मोर्क हुँदै शिवालय कचाली सडकमा राखिएको छ ।

सामुदायिक वनले डिभिजन वनसँग समन्वय गरेर काठ बिक्रीका लागि पहल शुरु हुन लागेको छ । काठ बिक्रीका लागि सार्वजनिक सूचना प्रकाशित गरेर प्रतिस्पर्धाका आधारमा काठ बिक्री गरिने भएको छ । दिगो वन व्यवस्थापन भन्दै जथाभावी रुख काटेको आरोपसमेत स्थानीयवासीले लगाएका छन् । रुखबाट भएको आम्दानीले सामुदायिक वनकै वृद्धि, विकासका लागि खर्चिने उपभोक्ता समितिका सदस्य रामबहादुर पुनले बताउनुभयो ।

दिगो विकासको नाममा उपभोक्ता समिति मोटाउने ख्याल नहोस् भनी स्थानीयवासीले खबरदारीसमेत गरिरहेको स्थानीयवासीको भनाइ छ । यहाँका चार सामुदायिक वनमा अघिल्लो वर्षदेखि उक्त कार्यक्रम लागू भएको हो । स्थानीयवासीले रुख मात्र काटेको जानकारी रहेपनि नयाँ रुख कहिले रोपिन्छ भन्ने पत्तो नभएको बताएका छन् ।

दिगो वन व्यवस्थापन गर्नका लागि विभिन्न मापदण्ड लागू गरेर मात्र काम गर्नुपर्नेमा डिभिजन वन कार्यालयको जोड छ । बूढा तथा माउ रुख एकैपटक नकाटी मापदण्ड बनाएर वर्षेनी सङ्ख्या निर्धारण गरी कटान गरिने डिभिजन वन कार्यालयले जनाएको छ ।

एकै छानाबाट तीन सेवा

छुट्टाछुट्टै कार्यालय रहेर विकेन्द्रीकरण सेवा दिँदै आएका स्वास्थ्य कार्यालय एकीकरण गरेसँगै एकै छानाबाट सेवा प्रवाह शुरु भएको छ । कर्णाली प्रदेश सरकारले जिल्ला अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र र स्वास्थ्य कार्यालयलाई एकीकृत गरी एकै छानामा राखेपछि सेवाप्रवाह छिटो, छरितो भएको हो ।

स्वास्थ्यसँग सम्बन्धित यी तीन कार्यालय एकै ठाउँ र एकै कार्यालयबाट सञ्चालन भएपछि स्वास्थ्यकर्मीलाई पनि सेवाप्रवाह र अनुभव आदान–प्रदानमा महत्वपूर्ण भूमिका खेलेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा रविन भुषालले जानकारी दिनुभयो ।

पछिल्लो समयमा सेवा प्रवाहमा चुस्त बन्दै आएको स्वास्थ्य सेवा अहिले एकीकरणले बिरामीलाई राम्रो भएको स्वास्थ्य सेवा कार्यालय विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताउनुभयो । कार्यालय एकीकरणसँगै भाडामा रहेको आयुर्वेद कार्यालय सरकारी कार्यालयमा सरेको छ । नयाँ निर्माण भएका भवनबाट स्वास्थ्य कार्यालयले सेवाप्रवाह गर्न थालेको छ । केही महीनाभित्र स्वास्थ्य सेवा कार्यालयको अत्याधुनिक भवन निर्माणकार्य शुरु हुने बताइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button