यसपालिको तीजमा पनि नखुल्ने भयो पशुपतिनाथ मन्दिर

काठमाडौँ । कोभिड–१९ का कारण गरिएको दोस्रो चरणको निषेधाज्ञासँगै बन्द रहेको पशुपतिनाथ मन्दिर यस वर्षको हरितालिका तिजमा पनि नखुल्ने भएको छ ।
तीजको समयमा भिडभाड बढी हुने र सुरक्षा मापदण्ड पुरा गर्न कठिन हुने भएकाले पशुपतिनाथ मन्दिर यसै महिनाको अन्तिमबाट खोल्ने तयारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
हिन्दु महिलाहरूको विशेष पर्व हरितालिका तिजमा श्रद्धालु भक्तजनहरूको विशेष पूजाआजा र नाचगानले झकिझकाउ हुने पशुपति मन्दिर गत वर्ष झैँ यस वर्ष पनि सुनसान नै हुने भएको छ ।
कोरोना महामारीका कारण विगत ५ महिनादेखि पूजाआजा बन्द गरिएको पशुपतिनाथको मन्दिर नखुल्ने भएपछि यसपालिको तिज पनि हिन्दु महिलाहरूले घर/घरमा नै सुरक्षित रुपमा मनाउनु पर्ने छ ।
लामो समयदेखिको लकडाउनका कारण पुरा हुन नसकेको आन्तरिक संरचना निर्माणको काम चलिरहेको र तिजमा भिडभाड पनि बढी नै हुने हुँदा मन्दिर तीजअघि खोल्न नसकिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
मन्दिरमा शुरु गरिएको लाइटिंङ लगायत आन्तरिक संरचनाका कामहरू लकडाउनका कारण पुरा गर्न नसकिएकाले मन्दिर खोल्न अझै केही दिन लाग्ने कोषले जनाएको छ ।
चार/पाँच लाख भन्दा बढी भक्तजनको जमघट हुने हरितालिका तीजमा पशुपति मन्दिर खोल्नका लागि सबै सुरक्षा व्यवस्थाको तयारी गर्नुपर्ने र त्यसका लागि कम्तीमा पनि १५/२० दिन अगाडीदेखि तयारी थाल्नु पर्ने भएकाले पनि यसपटकको तिजमा खोल्न नसकिएको कोषले जनाएको छ ।
कोरोनाको जोखिम कम हुँदै गएकाले जनस्वास्थ्यका सबै मापदण्ड पुरा गरी यसै महिनाको अन्तिमबाट मात्रै पशुपतिनाथको मन्दिर खोल्ने तयारी भएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. खतिवडाले जानकारी दिनुभयो ।
मन्दिर खुलिसकेपछि सरकारले तोकेका जनस्वास्थ्यका मापदण्ड पालना गर्दै दुई/दुई मिटरको दुरीमा भक्तजनहरूलाई राखेर पालैपालो दर्शन गर्ने व्यवस्था गर्ने गरी तयारी भइरहेको पनि कोषका निर्देशक डा. खतिवडाले जानकारी लिनुभयो ।
नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिर लगायत देवालय शिवालय एवं गुह्येश्वरी लगायत शक्तिपीठहरु भक्तजनका लागि बन्द अवस्थामा रहेका छन् ।
भदौ अन्तिमबाट पशुपतिनाथसँगै त्यस क्षेत्रका गुह्येश्वरीलगायतका अन्य मन्दिरहरू पनि खुला गर्ने तयारी गरिएको कोषले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्