उज्यालो वीरगन्ज अभियान अन्यौलमा

वीरगन्ज । वीरगन्ज महानगरपालिकाद्वारा सञ्चालन गरिएको उज्यालो वीरगन्ज अभियान कर्मचारीको लापरबाहीको कारण अँध्यारो वीरगन्जमा परिणत भएको छ ।
वीरगन्ज महानगरपालिकाले करोडौँको योजनामा उज्यालो वीरगन्ज अभियान सुरु गरी वीरगन्जलाई उज्यालो बनाउँदै समृद्धि तर्फ डोर्याउने कार्यक्रम सुरु गरेको भए पनि महानगरपालिकाका कर्मचारीहरूकै लापरबाही र असहयोगका कारण अभियान बीचैमा असफल हुने देखिएको छ ।
अभियान सुरु भएका वडाहरूमा महानगरपालिकाले दातृ संस्थाको सहयोगमा सोलर लाइट जडान देखि बिजुली खपत कम गर्ने एलइडी बत्तीहरूको जडान गर्ने कार्यलाई अगाडि बढाएको भए पनि कर्मचारीहरूको लापरबाहीका कारण अभियान असफल भएको गुनासो जनप्रतिनिधिको छ ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ मा जारी उज्यालो वीरगन्ज अभियान अन्तरगत ठेकेदारले कतै बत्ती जडान गर्ने कतै छाडि दिने गरेका छन् ।
अहिले वीरगन्जका सडक बत्तीहरू अधिकांश बिग्रिएको र सो स्थानमा बत्ती जडान गर्न महानगरपालिकालाई सर्वसाधारण जनताले आग्रह गर्दा उज्यालो वीरगन्ज अभियानले बत्ती जडान गरिदिनेभन्दै कर्मचारीहरू तर्कने गरेको र कर्मचारीकै लापरबाहीका कारण अहिले नगरको अधिकांश क्षेत्र रातको समयमा अँध्यारो हुँदा चोरीका घटना समेत बढ्न थालेको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ निवासी कोपिला थापाले बताउनुभयो ।

नगर क्षेत्रका अधिकांश सडक बत्तीहरू बिग्रिएको सम्बन्धमा वीरगन्ज महानगरपालिकाका विद्युत् शाखाका प्रमुख सुरेन्द्र साह सँग सम्पर्क गर्दा उहाँले सडक बत्ती आफूले नभई वडा कार्यालय तथा उज्यालो वीरगन्ज अभियानले हेर्ने भन्दै आफूहरूको काम अनुगमन मात्रै गर्ने भएको बताउनुभयो ।
त्यसैगरी उज्यालो वीरगन्ज अभियानअन्तर्गत वीरगन्ज महानगरपालिका, प्रदेश सरकार तथा सांसदहरुले वीरगन्जका झण्डै एक दर्जन स्थानमा टावर लाइट जडान गरेको भए पनि अहिले अधिकांश बत्तीहरू बल्न छाडेका छन् ।
वीरगन्जको रेल्वे रोडमा प्रदेश सरकारले जडान गरेको टावर लाइट दुई महिनादेखि बल्न छाडेको स्थानीय बासिन्दाहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्