तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा एकै दिन ७ जनाको मृत्यु

पोखरा | कास्कीमा एकै दिन कोरोनाबाट ७ जनाको मृत्यु भएको छ । पछिल्लो समय संक्रमण दर केही घटे पनि आज मृत्युदर वृद्धि भएको हो । 
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १६७६ जनामा गरिएको नमुना परीक्षणमा थप ४९६ जनमा संक्रमण देखिएको हो । बुधवार गण्डकीमा थप १२ जनाको मृत्यु पुष्टि भएको हो ।


आज संक्रमण पुष्टि हुनेमा कास्कीका १९८, तनहुँका २९, गोरखाका २१, लमजुङका चार र नवलपुरका ९२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य  निर्देशनालय प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।


यस्तै स्याङ्जाका २८, पर्वतका २५, बागलुङका ५९, म्याग्दीका आठ, मुस्ताङका १६ र मनाङ जिल्लाका १६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी निर्देशनालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । गण्डकीमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ७९ हजार ८९६ पुगेको छ । 


पछिल्लो २४ घण्टामा गण्डकीबाट ३८० जना कोरोनामुक्त भएका छन् ।  योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४ हजार २३९ पुगेको छ । 


आज मृत्यु पुष्टि हुनेमा स्याङ्जाका दुई जना, बागलुङका एक जना, तनहुँका एक जना, पर्वतका एक जना रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button