तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ जनादेशका लागि संसद विघटनः महासचिव पौडेल

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले कम्युनिष्ट आन्दोलनलाई क्षत विक्षत गर्ने षडयन्त्रसँग प्रतिवाद गर्न र नयाँ जनादेशका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुभएको बताउनुभएको छ ।

वीरगञ्जको नगर सभागृहमा आज आयोजित प्रदेश नम्बर २ स्तरीय अगुवा कार्यकर्ता भेलामा महासचिव पौडेलले अब मुलुक ताजा जनादेशतर्फ अगाडी बढिसकेको हुँदा बैशाख १७ र २७ गते निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रधानमन्त्री ओलीलाई घेराबन्दी गरी संसद विघटन गराउने बाध्यात्मक अवस्था सिजना गरेको बताउँदै १९ पेजको अभियोगपत्रको प्रधानमन्त्री ओलीले ३८ पेजको जवाफ दिँदा समेत प्रचण्ड र नेपाल समूहले हतार हतारमा अविश्वासको प्रस्ताव ल्याएर सरकारलाई ढाल्ने षडयन्त्र गरेपछि संसद विघटन भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्रीको कुर्सी हत्याउन तथा जस्तो सुकै रणनीति अपनाएर पनि आफ्नो स्वार्थ पुरा गर्न प्रचण्ड लागेको कारण माओवादी पार्टीको अस्तित्व समाप्त भएको बताउदै दुई पार्टी एक भएको ३ वर्ष नबित्दै प्रचण्डकै कारण अहिलेको अवस्था सिजना भएको बताउनुभयो ।

कानुन मन्त्री लिला श्रेष्ठले विदेशी शक्तिको इशारामा सरकार ढाल्ने खेल शुरु भएपछि प्रतिनिधिसभा विघटनको अवस्था सिजना भएको बताउँदै आगामी निर्वाचनमा ओली नेतृत्वमा नेकपालाई बहुमतले जिताउन कार्यकर्तालाई आह्वान गर्नुभयो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले गुटको राजनीति छाडेर एकजुट भई अगाडी बढन प्रचण्ड र नेपाल समूहलाई आग्रह गर्दै संसद कुनै हालतमा पुर्नस्थापना नहुने हुँदा सडक छाडेर निर्वाचनमा जुट्न दलहरुलाई आग्रह गर्नुभयो ।

नेकपा प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य ज्वाला साह, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button