प्रादेशिक खाद्य कम्पनीले समर्थन मूल्यमा किसानसँग धान खरिद गर्दै
जनकपुरधाम । नेपाल सरकारले तोकेको धानको समर्थन मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेशिक कार्यालय जनकपुरधामले किसानसंग सोझै खरिद गर्न थालेको छ ।
अहिलेसम्म कार्यालयले सोना मन्सुली धान ३ हजार ५ सय क्वीन्टल खरिद गरेको कार्यालयका निमित्त प्रमुख गंगाप्रसाद साहले जानकारी दिनुभयो । कम्पनीले मसिनो धान अन्तर्गत रहेको सोना मन्सुली, कर्तनी धान सरकारले तोकेको समर्थन मूल्य प्रति क्वीन्टल २ हजार ८ सय ८५ रुपैयाँमा खरिद गरिएको प्रमुख साहले बताउनु भयो ।
सरकारले किसानको राहतका लागि मसिनो धानको समर्थन मूल्य प्रति क्वीन्टल २ हजार ८ सय ८५ रुपैयाँ तथा मोटो धानको समर्थन २ हजार ७ सय ३५ रुपैयाँ तोकेको छ ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको व्यापार कम्पनीले सोना मन्सुली र कर्तनी गरेर २ हजार मेट्रीक टन र वासमती धान ५ हजार क्वीन्टल खरिद गरिने जनाएको छ ।
कम्पनीमा धान विक्री गर्नका लागि किसानहरुको अत्यधिक भिड भएपछि व्यवस्थित रुपमा खरिद गर्नका लागि किसानलाई कुपन उपलब्ध गराउने र तोकिएको मितिमा आएर विक्री गर्नका लागि व्यवस्था मिलाउन लागेको कार्यालयले जनाएको छ ।
यसैबीच, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धनुषाका प्रमुख यूगलकिशोर तिवारीले कम्पनीले खरिद गरिरहेको धानको विषयमा स्थलगत रुपमा अनुगमन गर्नु भएको छ । धान विक्री गर्ने किसानको अत्यधिक भिड भएकाले व्यवस्थित रुपमा विक्री वितरणका लागि प्रमुख तिवारीले अनुरोध गरेको बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्