तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि हवाई उद्धार सेवा सम्बन्धी कार्यविधि, २०७५ पारित भई सञ्चालनमा आएको छ । २०७५ कार्तिक ३० गते हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७५ पारित भई २०७५ पौष ६ गतेबाट यो सेवा सुरुवात गरिएको हो ।
हालसम्म १५७ जना गर्भवती तथा सुत्केरी महिलाहरूले यस कार्यक्रम मार्फत सेवा प्राप्त गरी सकेका छन् ।
सो कार्यविधि २०७७ असोज ११ मा परिमार्जन भई सञ्चालनमा आएको राष्ट्रपति महिला उत्थान कार्यक्रमका इकाई प्रमुख अन्जु ढुङ्गानाले बताउनुभयो । कार्यक्रमको कार्यान्वयनको लागि आवश्यक छलफल भइरहेको ढुङ्गानाले बताउनुभयो ।
निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई उद्धार गरी अस्पतालसम्म पुर्‍याउने गरिन्छ । हालसम्म १५७ जना गर्भवती तथा सुत्केरी महिलाहरूले यस कार्यक्रम मार्फत सेवा प्राप्त गरी सकेको इकाई प्रमुख ढुङ्गानाले बताउनुभयो ।
नयाँ कार्यविधिमा सुत्केरी महिलालाई प्रोत्साहन स्वरूप घर फर्किनको लागि बाटो खर्च, सुत्केरी स्याहार खर्चको बापत बिस हजार रुपैयाँ प्रदान गरिने र यस बारेमा आवश्यक छलफल भइरहेको इकाई प्रमुख ढुङ्गानाले बताउनुभयो ।
४८ जिल्लामा कार्यक्रम लागू
२०७५ पौष ६ गतेबाट सुरु गरिएको निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम हाल सम्म ४८ जिल्लामा लागू भएको जनाइएको छ । ४८ जिल्ला मध्ये १९ वटा जिल्लामा पूर्ण रुपमा लागू भइसकेको छ भने २९ जिल्लामा आंशिक रुपमा लागू गरिएको छ ।
ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा, अछाम र दार्चुलामा पूर्ण रुपमा लागू भई सकेको छ भने पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, नवलपरासी, गुल्मी, प्युठान, रोल्पा, जुम्ला, सल्यान, डोटी, बैतडी र डडेलधुरामा आंशिक रुपमा निःशुल्क हवाई उद्धार कार्यक्रम लागू भइसकेको जानकारी दिनुभयो ।
सुविधा कसले पाउने
दुर्गम जिल्लाका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क  हवाई उद्धार अन्तर्गत यो सुविधा उपलब्ध गराइन्छ ।
लगातार लामो प्रस्रव व्यथा लागि बच्चा जन्माउन कठिनाइ भएका महिला, गर्भमै बच्चाको मृत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुनिएको, सुत्केरी पश्चात् अत्यधिक रक्तस्राव भएको, रक्त अल्पता भएका गर्भवती महिला, स्थानीय स्वास्थ्य सस्ताबाट उपचार हुन नसकेका महिलाहरूले यो सेवा प्राप्त गर्नेछ ।
हवाई उद्धारका लागि के गर्ने?
निःशुल्क हवाई उद्धार सेवा लिनका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस पत्रका साथ हवाई उद्धारका लागि सूचना दिनु पर्नेछ । यसका लागि सम्बन्धित गर्भवती महिलाको नागरिकताको प्रतिलिपि, स्थानीय स्वास्थ्य संस्थाले दिएको सिफारिस आवश्यकता पर्दछ साथै हवाई उद्धार सम्बन्धी कार्यविधिमा तोके बमोजिम हुनेछ ।
दुर्गम ठाउँमा स्वास्थ्य सस्थाहरु नभएर वा आवश्यक सेवा पाउन नसकी कतिपय गर्भवती महिला र बच्चाले मृत्युवरण गर्नु परेको अवस्थामा यो राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निःशुल्क हवाई उद्धार सेवा कार्यक्रमले दुर्गम जिल्लाका गर्भवती सुत्केरी महिलाहरूलाई ठुलो राहत पुगेको छ । यसबाट गर्भवती महिला र बच्चाले समयमा उपचार प्राप्त गरी लाभान्वित हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button