स्वर्गीय पत्रकार खड्काको विधिवत् रूपमा अन्त्येष्टी गरियो

डोटी । सुदूरपश्चिमका चर्चित पत्रकार स्वर्गीय तेज बहादुर खड्का (तेजु खड्का) को शनिबार विधिवत् रूपमा अन्त्येष्टि गरिएको छ ।
रेडियो नेपाल दिपायलमा लामो समय काम गर्दै श्रोतामाझ निकै लोकप्रिय पत्रकार खड्का वि.सं. २०७५ साल भाद्र ९ गते बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बुढीनन्दा मेलाबाट फर्कने क्रममा बेपत्ता भएका थिए ।
पत्रकार खड्का बेपत्ता भएको सुरुवातमा राज्यका विभिन्न संयन्त्र प्रयोग गरी उनको खोजी कार्य भएता पनि पत्ता लाग्न सकेको थिएन । बेपत्ता भएको २ वर्षपछि उनको २०७६ मङ्सिर २ गतेका दिन जडीबुटी सङ्कलन गर्न गएका बाजुराका स्थानीयले ज्याकेट, झोला, पर्स, परिचय पत्र, मोबाइल, कङ्काल (करङका दुई वटा हड्डी) फेला पारेका थिए ।
भेटिएको करङको हड्डीको केही महिना अघि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उनकी आमा मन्धरीदेवी खड्काको रगतसँग डिएनए परीक्षण गर्दा सो अवशेष पत्रकार खड्काकै भएको पुष्टि भएको थियो । त्यसपछि वि.सं. २०७७ असार १७ गते सरकारले पत्रकार खड्काको मृत्यु भएको घोषणा गरेको थियो ।

पछिल्लो समयमा बाजुराकै स्थानीय रेडियोमा कार्यरत पत्रकार खड्का बुढीनन्दा मेलाको रिपोर्टिङ पश्चात् फर्कने क्रममा बर माग्ने भन्ने ठाउँबाट बेपत्ता भएका थिए । खड्काको १५ महिनापछि सो स्थानबाट करिब १७ माइल टाढा लौरी विनायक भीरमा कङ्काल भेटिएको थियो । उक्त कङ्काल र अन्य सामाग्रीहरू सहित जिल्ला प्रहरी कार्यालय बाजुरालाई बुझाइएको र तत्पश्चात् डोटीबाट गएको पत्रकारहरूको टोलीले गत वर्ष मङ्सिरमा डोटी ल्याएको थियो ।
नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्ष समेत रहेका खड्काको कङ्काललाई आज शनिबार उनका दाजु कृष्ण खड्का, छोरा सुमन खड्काले सेती नदिमा दागबत्ती दिएका हुन् ।
दिपायल सिलगढी नगरपालिका वडा नं. १ का स्वर्गीय खड्काको काजक्रिया पनि दाजु कृष्ण खड्काले नै गर्ने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्