तपाईँ सुन्दै हुनुहुन्छः

मनाङमा एउटै ठेकेदारको राज, ठेक्का लिने, काम नगर्ने

मनाङ- मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ । पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो । एक वर्षभित्रै सक्ने गरी मृत सञ्जीवनी, खड्का कृष्ण र क्याराभानले संयुक्तरूपमा पाएको योजना अहिलेसम्म अलपत्र छ ।

मनाङको पुरानो सदरमुकाम थोँचेबाट पल्लोगाउँ तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल विसं २०७३ असारमा ठेक्का लगाइएको थियो । विसं २०७४ साउन २३ मा सक्नुपर्ने शुरुको सम्झौता भए पनि हालसम्म तीनपटकसम्म म्याद थप भयो तर कामको प्रगति छैन ।

भ्याटबाहेक रु तीन करोड ५५ लाखमा दिइएको ठेक्काको काम अलपत्र पारे पनि ठेकेदारले करिब रु एक करोड ३२ लाख निकासा गरिसकेका छन् । पूर्वाधार कार्यालय मनाङका अनुसार हालसम्म दूधखोला पुलको काम ४० प्रतिशत सकिएको छ । “फिल्डमा त्यति काम देखिँदैन । दुईतिर पर्खाल उठाएर मात्रै छाडिएको छ । पुल बन्ला भनेर वारिपारि सडक खनिसक्यौँ ।

यो पुल नबन्दा मनास्लु पदमार्गमा जाने पर्यटकलाई हिँड्न समस्या भएको छ भने चर्को ढुवानी तिरेर सामान ओसार्न बाध्य छन् स्थानीयवासी । मस्र्याङदी नदीमाथि हुम्डेमा पुल बनाउनका लागि जिल्ला विकास समितिले विसं २०७३ कै असारमा अर्को बोलपत्र निकाल्यो । श्री गाल्वा र क्याराभान कम्पनीले नै यसको ठेक्का पायो ।

भ्याटसहित रु चार करोड ५७ लाखमा ठेक्का दिइएको यो पुल विसं २०७४ माघमा सक्नुपर्ने हो । समयमा काम नसकिएपछि २०७७ असारसम्म सक्ने गरी म्याद थपिएको थियो । पछिल्लो म्यादसम्म ४० प्रतिशतभन्दा काम हुन सकेन । तत्कालीन जिल्ला विकास समितिले विभिन्न मितिमा छवटा पुलको ठेक्का दिइएको थियो । यी दुईवटा मात्रै होइन, मनाङका छवटै पुल निर्माणको जिम्मा क्याराभानले लिएको थियो ।

त्यसमध्ये लमजुङ र मनाङ जोड्ने म्यार्दी खोलाको पुल ढिलो गरी सकिएर गाडी गुड्न थालेको छ भने अरु सबैजसो पुल अलपत्र अवस्थामा छन् । तिमाङखोलाको पुल अन्तिम चरणमा पुगेको बेँसीशहर–चामे सडक आयोजनाका प्रमुख सुमन अधिकारीले बताउनुभयो ।

विसं २०७४ असार ८ मा रु दुई करोड २६ लाख लागतमा तिमाङखोला पुलको सम्झौता भएको थियो । विसं २०७५ पुस ८ मा सक्नुपर्ने म्याद भए पनि हालसम्म यसको म्यादसमेत थपिएको छैन । म्यार्दीको पुल निर्माण करिब सकिएपछि बाढीले बगाएको थियो । सडक डिभिजन कार्यालय दमौलीले मनाङमा दुईवटा पुल निर्माण गर्दै छ । पिसाङ र मुङ्जीमा निर्माणाधीन पुल अहिलेसम्म सकिएको छैन । रु तीन करोड ६९ लाख लागत अनुमानसहित डेढ वर्षमा सक्नुपर्ने पिसाङ पुल विसं २०७४ जेठमा सम्झौता भएको थियो ।

मुङ्जी पुल निर्माणका लागि विसं २०७४ पुस २६ मा सम्झौता भएको हो । यसको दुई वर्ष म्याद थियो । पुल निर्माणका लागि रु नौ करोड लागत अनुमान गरिएको छ । जिल्लाका सबै योजनाको अनुगमन गर्ने अधिकार पाएको जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले कम्पनीले ठेक्का मात्रै ओगटेर काम नगरेको बताउनुभयो ।

पुरानै ठेक्का अल्झाइराखेको क्याराभान कम्पनीलाई नै अहिले घोप्टेखोलाको बेलिब्रिज निर्माणको जिम्मा दिइएको छ । बेँसीशहर–चामे सडक आयोजनाले रु ३२ लाख लागतमा पुल बनाउने ठेक्का क्याराभानलाई सुम्पेको हो । अहिले थपिएको समयमा पनि काम नसके नियमानुसार कारवाही अघि बढाउने पूर्वाधार कार्यालय मनाङका प्रमुख नवीनचन्द्र अधिकारीले बताउनुभयो ।

ठेकेदार कम्पनीले समयमा काम नगरेपछि मनाङवासीले पटक–पटक अख्तियारका प्रतिनिधिलाई खबरसमेत गरे तर कुनै सुनुवाइ नभएको उनीहरु बताउँछन् । निर्माण कम्पनी क्याराभानका फिल्ड इञ्जीनियर नारायण लामाले मौसम र बाटोका कारण समयमा काम गर्न नसकेको बताउनुभयो ।

निर्माण सामग्रीको ढुवानीमा समस्या भएको उहाँले बताउनुभयो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले ठेक्का ओगट्ने र काम नगर्ने ठेकेदारलाई आँखा चिम्लेर कारवाही गर्ने बताउनुभयो । मनाङका अधिकांश ठेक्का क्याराभानले नै पाएको छ । अहिले यही कम्पनीले रु १० करोड लागतको जिल्ला कारागारको भवन निर्माण गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button