तपाईँ सुन्दै हुनुहुन्छः

दशौं राष्ट्रिय खेलकुद : १२ स्वर्णसहित पौडीमा बागमतीको अग्रता कायमै

नेपालगन्ज । दशौं राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको तेस्रो दिन बिहीबार पाँच नयाँ राष्ट्रिय कीर्तिमान बन्दा अंक तालिकामा बागमती प्रदेशले अग्रता कायमै राखेको छ । 

नेपालगन्ज रङ्गशालास्थित पौडी पोखरीमा भइरहेको प्रतियोगितामा बागमती प्रदेशले १२ स्वर्ण पदक, ७ रजत, ७ कास्य गरी कुल २६ पदकसहित अग्रता लिएको छ भने एनआरएन टिम ९ स्वर्ण, ३ रजत र ३ कास्य गरी कुल १५ पदक जित्दै दोस्रो स्थानमा छ । 

तेस्रो स्थानमा रहेको नेपाल आर्मी क्लबले ६ स्वर्ण पदक, १० रजत र १३ कास्य गरी कुल २९ पदक जितेको छ भने चौथो स्थानमा रहेको नेपाल पुलिस क्लबले ४ स्वर्ण, ११ रजत र १२ कास्य गरी कुल २७ पदक जितेको छ । पाँचौँ स्थानमा रहेको कोशी प्रदेशले २ स्वर्ण र छैटौँ स्थानमा रहेको सुदूरपश्चिमले हालसम्म १ स्वर्ण, ३ रजत र १ कास्य पदक जितेको छ ।

बिहीबार नेपालगन्ज पौडी पोखरीमा भएको महिला १५०० मिटर फ्रिस्टायलको स्वर्ण पदक जित्ने क्रममा एनआरएन लिली बोहराले आफ्नो पुरानो कीर्तिमानलाई भङ्ग गर्दै १८ मिनेट ०४.१५ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी छिन् । यसअघि उनले सन् २०२६ मा १८ मिनेट ०४.१५ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । यसैगरी बिहीबार लिलीले स्वर्ण जित्दा पुलिसकी देभान्सी जोशीले (२१ मिनेट ०५.२६ सेकेन्ड) रजत र आर्मीकी सिसोम्बुन राईले (२१ मिनेट १४.७७ सेकेन्ड) कास्य हासिल गरिन् ।

पुरुष १०० मिटर बटरफ्लाईमा बागमतीका अभिभ प्रधानले स्वर्ण जित्ने क्रममा ५८.२२ सेकेन्डको नयाँ कीर्तिमान बनाएका छन् । यसअघि सन् २०२५ मा अनुभव सुब्बाको नाममा ५९.५४ सेकेन्डको कीर्तिमान रहेको थियो । 

त्यस्तै यस इभेन्ट्समा पुलिसका इर्भिन श्रेष्ठले रजत जित्दा पनि पुरानो कीर्तिमानलाई पछि पारेका थिए । इर्भिनले ५९.०४ सेकेन्डमा पूरा गरेका थिए । कास्य जित्ने आर्मीका सौर्य बहादुर सिंहले १ मिनेट ००.५३ सेकेन्ड समय लगाए ।

त्यस्तै २०० मिटर ब्रेस्ट स्ट्रोकमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । कोशी प्रदेशका विकास कुमालले आफ्नै पुरानो कीर्तिमानमा सुधार गर्दै २ मिनेट ३४.३६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएर स्वर्ण जिते । सुदूरपश्चिमका अर्थभ सिंहले रजत जित्ने क्रममा २ मिनेट ४०.०५ सेकेन्ड र कास्य जित्ने पुलिसका जडेन श्रेष्ठले २ मिनेट ४४.९६ सेकेन्डमा पूरा गरेका थिए ।

बिहीबार पुरुष ५० मिटर ब्याकस्ट्रोकको स्वर्ण पदक जित्ने क्रममा बागमतीका अभिभ प्रधानले २८.९५ सेकेन्डमा पार गर्दै आफ्नै नाममा रहेको पुरानो कीर्तिमानमा सुधार गरे । यसअघि उनको नाममा २८.९९ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । त्यस्तै आर्मीका जडेन श्रेष्ठले (२९.९० सेकेन्ड) रजत र बागमतीकै रेअन्त बहादुर श्रेष्ठले कास्य (२९.९२ सेकेन्ड) पदक जिते ।

प्रतियोगिताको तेस्रो दिन ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा नयाँ कीर्तिमान बनेको छ । बागमती प्रदेशका रेअन्त, आरिक कर्माचार्य, बशिष्ठ राज शाही र अभिभले ३ मिनेट ४५.७५ सेकेन्डको कीर्तिमान बनाउँदै स्वर्ण जिते । त्यसअघि सन् २०२५ मा अभिभ, जडेन, रेअन्त र अल्भिन महर्जनको नाममा ३ मिनेट ४७.७३ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । बिहीबार यस इभेन्टमा पुलिस क्लबले ३ मिनेट ५१.७५ सेकेन्डसहित रजत र ३ मिनेट ५५.९७ सेकेन्डसहित आर्मीले कास्य पदक जितेको छ ।

प्रतियोगिता अन्तर्गत ४०० मिटर फ्रिस्टायलमा पुसिल क्लबका काल्किन श्रेष्ठले स्वर्ण (४ मिनेट २०.११ सेकेन्ड) पुलिसकै मयोन श्रेष्ठले रजत (४ मिनेट ३०.८८ सेकेन्ड), सुदूरपश्चिमका अर्थभले कास्य पदक (४ मिनेट ३२.८१ सेकेन्ड) जिते । २०० मिटर इन्डभिज्युअल मिडलेमा एनआरएन टिमकी लिलीले स्वर्ण (२ मिनेट ३३.६७ सेकेन्ड), आर्मीकी डुअना लामाले रजत (२ मिनेट ३३.८९ सेकेन्ड) र एनआरएन मिखा काया थापाले कास्य (२ मिनेट ४६.९४ सेकेन्ड) पदक जितिन् ।

महिला १०० मिटर बटरफ्लाईमा आर्मीकी डुअनाले स्वर्ण (१ मिनेट १०.४३ सेकेन्ड), एनआरएन लिलीले रजत (१ मिनेट १२.०३ सेकेन्ड) र पुलिसकी देभान्सीले कास्य पदक (१ मिनेट १६.२६ सेकेन्ड) हासिल गरिन् । महिला २०० मिटर ब्रेस्ट स्ट्रोकमा आर्मीकी डुअनाले स्वर्ण (२ मिनेट ४९.३४ सेकेन्ड), एनआरएन लिलीले रजत ९२ मिनेट ५८.६४ सेकेन्ड) र आर्मीकी रितिका भुमीले कास्य पदक (३ मिनेट ०३.५२ सेकेन्ड) जित्न सफल भइन् ।

महिला ५० मिटर ब्याकस्ट्रोकमा एनआरएन मिखाले स्वर्ण (३३.२७ सेकेन्ड), बागमतिकी आर्या महर्जनले रजत (३३.४३ सेकेन्ड) र पुलिसकी देभान्सीले कास्य पदक (३४.११ सेकेन्ड) जितिन् । महिला ४ गुणा २०० मिटर फ्रिस्टायलमा रिलेमा आर्मीले स्वर्ण (९ मिनेट ५८.७३ सेकेन्ड), बागमतिले रजत (१० मिनेट ०७.५२ सेकेन्ड) र पुलिसले कास्य पदक (१० मिनेट ४१.८६ सेकेन्ड) जितिन् । बिहिबारको अन्तिम इभेन्ट्स ४ गुणा ५० मिटर मिडले रिलेमा आर्मीले स्वर्ण (१ मिनेट ५६.०८ सेकेन्ड), बागमतिले रजत (१ मिनेट ५७.५३ सेकेन्ड) र पुलिसले कास्य पदक (१ मिनेट ५८.६४ सेकेन्ड) जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button