तपाईँ सुन्दै हुनुहुन्छः

दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीको विजयी सुरुवात

सुर्खेत ।  दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको पुरुष क्रिकेटतर्फको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गरेको छ । 

कालुन्चोक क्रिकेट मैदानमा भएको दोस्रो खेलमा टस जितेर बलिङ रोजेको गण्डकीविरुद्ध विभागीय टोली आर्मीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १७७ बनायो । जवाफी ब्याटिङमा उत्रिएको गण्डकी भने १७ ओभरमा अलआउट हुँदा ११० रनमा सीमित भयो । 

राष्ट्रिय टोलीबाट समेत खेलिसकेका आर्मीका कप्तान विनोद भण्डारी र कुशल मल्लको समान ३६—३६ रनको योगदानमा १७८ रनको लक्ष्य खडा ग¥यो । मल्लले २ छक्का र ४ चौका प्रहार गर्दै ३६ रन जोड्दा भण्डारीले एक छक्का र तीन चौकाको मद्दतमा ३६ बलमा ३६ रन बटुले । 

आर्मीका वशिर अहमदले २७ र त्रितराज दास ११ बलमा २४ रन जोडे पनि राष्ट्रिय टीमका अर्को सदस्य भीम सार्की दुई बल खेल्दै खातै नखोली डगआउट भए । 

बलिङमा गण्डकीका कप्तान विपिन खत्रीले २८ रन खर्चेर तीन विकेट हात पार्दा कृष्ण पौडेल र सुदिप अर्यालको खातामा समान दुई–दुई विकेट रह्यो । 

गण्डकीले २१ रन अतिरिक्त खर्चिएको थियो । गण्डकीका ओपनर ईश्वर क्षेत्रीले १५ बलमा ५ चौकासहित २६ रन जोडेर टीमका लागि सर्वाधिक रन बटुले भने सोहेल कुँवरले २२ र वंश क्षेत्रीले १६ रन जोडे । 

आर्मीका लागि ‘म्यान अफ दि म्याच’ तिलकराज भण्डारीले ३ ओभर बलिङ गर्दै जम्मा १२ रन खर्चेर ४ विकेट हात पारे । 

यस्तै नरेश साउँदले २ र कुशल मल्लले १ विकेट लिए । पहिलो जितसँगै कर्णाली र आर्मीले समान दुई–दुई अंक जोडेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button