शौचालयबाट निस्कने फोहोर र गाईबस्तुको गोबर प्रशोधन गरी मासिक १० टन जैविक मल उत्पादन

रुपन्देही । फोहोर व्यवस्थापनलाई चुनौतीका रूपमा लिइरहेका बेला बुटवलमा शौचालयबाट निस्कने फोहोर र गाईबस्तुको गोबर प्रशोधन गरी जैविक मल उत्पादन गर्न थालिएको छ ।
बुटवल सेनिटरी प्रालिअन्तर्गत नेपाल बायो कम्पोष्टले फोहोरलाई स्रोतका रूपमा उपयोग गर्दै जैविक मल उत्पादनको काम गरिरहेको हो ।
बुटवलको फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको यस अभियानले एकातिर शौचालयबाट निस्कने फोहोरको उचित व्यवस्थापन गरेको छ भने अर्कोतिर कृषि प्रयोजनका लागि उपयोगी जैविक मल उत्पादन गरिरहेको छ ।
कम्पनीले घर घरका शौचालयबाट सङ्कलन हुने फोहोरलाई गाईबस्तुको गोबरसँग मिसाएर प्रशोधन गर्ने गरेको छ । मेसिनको सहायताले फोहोरबाट डस्ट निकालिन्छ । त्यसमा वनमारा, धुलो, पिना, हड्डीको धुलो, निम तथा सुर्तीको धुलो र ब्याक्टेरियाको विकासमा सहयोग गर्ने इएम मिसाएर करिब ४५ दिनसम्म कुहाउने प्रक्रिया अपनाइन्छ । यसरी तयार भएको मललाई सुनवलस्थित प्रयोगशालामा परीक्षण गरेपछि प्याकेजिङ गरी बजारमा पठाउने गरिएको छ ।
नेपाल बायो कम्पोष्टका अध्यक्ष यामबहादुर थापाका अनुसार पछिल्लो एक वर्षदेखि कम्पनीले मासिक करिब १० टन जैविक मल उत्पादन गरिरहेको छ । उत्पादित मल एक, पाँच र २५ किलोका प्याकेटमा बजारमा बिक्री वितरण हुँदै आएको छ । यसले रासायनिक मलको विकल्पका रूपमा जैविक मलको प्रयोग बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कम्पनीले दैनिक करिब ३२ हजार लिटर शौचालयजन्य फोहोर सङ्कलन तथा व्यवस्थापन गर्दै आएको जनाएको छ । यसका लागि रामनगर सामुदायिक वनसँग सम्झौता गरी २०७८ सालदेखि काम सुरु गरिएको हो । तत्कालीन अध्यक्ष क्याप्टेन किशन थापाको कार्यकालमा सामुदायिक वनको साधारण सभाबाट निर्णय भएपछि परियोजना अघि बढाइएको थियो ।
तीन वर्षका लागि गरिएको सम्झौताअनुसार कम्पनीले सामुदायिक वनलाई मासिक ३५ हजार रुपैयाँ भाडा र मल बिक्रीबाट हुने नाफाको ५० प्रतिशत उपलब्ध गराउने सहमति गरेको थियो । पाँच कठ्ठा क्षेत्रफलमा सञ्चालन भइरहेको परियोजनामा एक लाख लिटर क्षमताको ट्रिटमेन्ट प्लान्टसमेत निर्माण गरिएको छ ।
अध्यक्ष थापाका अनुसार प्लान्ट निर्माणमा करिब तीन करोड रुपैयाँ र सडक निर्माणमा २५ लाख रुपैयाँ खर्च भएको छ । लकडाउनका कारण परियोजना सञ्चालनमा विभिन्न समस्या आए पनि अहिले यसलाई उद्योगका रूपमा स्थापित गर्दै लगिएको छ । यसबाट स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै फोहोर व्यवस्थापनको क्षेत्रमा नयाँ अभ्यास सुरु भएको उनको भनाइ छ ।
यस परियोजनाले जैविक मल उत्पादनसँगै वन संरक्षणमा समेत योगदान पुर्याएको छ । वन क्षेत्रमा जथाभाबी फोहोर फाल्ने र आगलागीको जोखिम बढाउने गतिविधि नियन्त्रण गर्न सहयोग पुगेको बताइएको छ । वन क्षेत्रमा सङ्कलित जैविक पदार्थलाई समेत उपयोग गर्दै मल उत्पादन गरिएकाले फोहोरको पुनः प्रयोग र वन संरक्षणलाई एकसाथ अघि बढाइएको छ ।
यद्यपि, परियोजना सञ्चालनमा नीतिगत तथा कानुनी समस्या भने कायमै छन् । राष्ट्रिय वन अनुसन्धानअन्तर्गतको क्षेत्रमा सञ्चालन भइरहेको परियोजनामा भोगाधिकार तथा जग्गा व्यवस्थापनसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था नहुँदा दीर्घकालीन सञ्चालनमा चुनौती देखिएको छ ।
स्थानीय सरकारले गर्नुपर्ने शौचालयजन्य फोहोर व्यवस्थापनको काम निजी क्षेत्रले लगानी र प्रयासमार्फत गरिरहेको अवस्थामा यस्ता उद्योगलाई नीतिगत सहजीकरण र प्रोत्साहन आवश्यक देखिएको छ ।
फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्न सकिने उदाहरणका रूपमा नेपाल बायो कम्पोष्टको यो प्रयासलाई लिन सकिन्छ । उचित सरकारी नीति, प्राविधिक सहयोग र बजार व्यवस्थापन हुन सके यस्ता परियोजनाले सहरी फोहोर व्यवस्थापनसँगै वातावरण संरक्षण, रोजगारी सिर्जना र दिगो कृषि प्रणालीमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्छन् ।








प्रतिक्रिया राख्नुहोस्