बागमतीका सबै जिल्लामा मासु सुपरिवेक्षक तोक्ने प्रदेश सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा मासु सुपरिवेक्षक तोक्ने निर्णय गरेको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पशु वधशाला र मासु जाँच ऐन, २०५५ को दफा ७ को उपदफा १ बमोजिम मासुको गुणस्तर अनुगमन तथा नियमन गर्न सबै जिल्लामा सुपरिवेक्षक तोक्ने निर्णय गरेको हो ।
बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसीले बजारमा अस्वस्थकर र गुणस्तरहीन मासु बिक्री–वितरण भइरहेको गुनासो बढिरहेकोले अनुगमनलाई प्रभावकारी बनाउन सरकारले यस्तो निर्णयले गरेको उहाँले बताउनुभयो ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएयताको समग्र विकासको समीक्षा तथा आगामी १० वर्षको रणनीतिक गुरुयोजना तयार पार्न मुख्यमन्त्रीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रवक्ता केसीका अनुसार समितिले प्रदेशका १३ जिल्ला, ११९ पालिका र सबै वडामा सरकारको उपस्थिति तथा कार्यप्रगतिको लेखाजोखा गर्नेछ ।
यसैगरी, बैठकले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई दिइँदै आएको शैक्षिक तथा अभिभावकत्व सुविधाको दायरा विस्तार गरेको छ । यसअघि दुवै अभिभावक गुमाएका बालबालिकालाई मात्र उच्च शिक्षासम्मको अध्ययन र व्यवस्थापनको सुविधा दिइँदै आएकोमा अब बुबा वा आमामध्ये एक जना मात्र गुमाएका बालबालिकालाई समेत सो सुविधा उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो ।
त्यस्तै बैठकले स्थानीय तहमा जनशक्ति अभाव पूर्ति गर्न ‘स्थानीय सेवा गठन तथा सञ्चालन ऐन’ संशोधन विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ । प्रशासनिक व्यवस्थापनतर्फ रिक्त रहेका माथिल्लो पदमा पदपूर्ति नभएसम्म तल्लो तहका कर्मचारीलाई कायममुकायम मुकरर गर्ने निर्णय भएको छ ।
यस्तै उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा उद्योगतर्फका सचिव संघीय मन्त्रालयमा सरुवा भएपछि मन्त्रालयको जिम्मेवारी सचिव दीपेन्द्र सुवेदीलाई दिनुका साथै, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा ११औँ तहको एक प्राविधिक पद थप सिर्जना गर्ने र कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले ल्यान्ड पुलिङलगायत बस्ती विकास कार्यक्रम अघि बढाउन ‘बस्ती विकास तथा जग्गा एकीकरण ऐन, २०८३’ निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । भने, रामेछापको मन्थली नगरपालिका–६ मा बन्ने फोहोरमैला व्यवस्थापन केन्द्रको जग्गा प्राप्तिका लागि प्राथमिकता प्राप्त आयोजना तोकिएको उहाँले बताउनुभयो ।
यस्तै, मालपोत रजिस्ट्रेसन दस्तुरको स्रेस्ता व्यवस्थापन लगायतका कामका लागि भूमि प्रशासन कार्यालयहरूलाई करिब ४ करोड ७० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय पनि आजको बैठकले गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्