तपाईँ सुन्दै हुनुहुन्छः

संसारकोट : जहाँ संस्कृति र प्रकृतिले पर्यटकलाई लोभ्याउँछ 

नवलपरासी । बर्दघाट नगरपालिकाको व्यस्त बजार र समथर भूभागबाट केही माथि उक्लिएपछि देखिने हरियाली पहाड, शान्त ग्रामीण बस्ती र टाढासम्म फैलिएको मनोरम दृश्यले जोकोहीलाई लोभ्याउँछ। प्रकृतिको यही सुन्दरता, ऐतिहासिक विरासत र धार्मिक आस्थाको संगम हो– संसारकोट।

बर्दघाट नगरपालिका–२ को पहाडी क्षेत्रमा अवस्थित संसारकोट केवल एउटा ग्रामीण बस्ती मात्र होइन, इतिहास, संस्कृति र प्रकृतिलाई एकै ठाउँमा अनुभूति गर्न सकिने सम्भावनायुक्त पर्यटकीय स्थल पनि हो। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको संसारकोट मन्दिरका नामबाट यस क्षेत्रको नामकरण भएको स्थानीय विश्वास छ। थारु र मगर समुदायको धार्मिक आस्थासँग जोडिएको यस मन्दिरले यहाँको मौलिक संस्कृति र परम्परालाई समेत जीवन्त राखेको छ।

बर्दघाटको भुताहा चोकबाट उत्तरतर्फ करिब सात किलोमिटरको दूरी पार गरेपछि संसारकोट पुग्न सकिन्छ। समुद्री सतहबाट ५६१ मिटर उचाइमा रहेको संसारकोट बर्दघाट नगरपालिकाकै सबैभन्दा अग्लो स्थानका रूपमा परिचित छ। यहाँ पुग्ने पर्यटकले एकातिर शान्त पहाडी वातावरण र हरियालीको आनन्द लिन सक्छन् भने अर्कोतर्फ उत्तरतर्फ फैलिएका हिमशृंखला तथा दक्षिणतर्फ बर्दघाट बजारदेखि त्रिवेणी क्षेत्रसम्मको मनोरम दृश्य अवलोकन गर्न सक्छन्।

संसारकोटको आकर्षण प्राकृतिक सौन्दर्यमा मात्र सीमित छैन। यस क्षेत्रको ऐतिहासिक पहिचान बोकेको संसारकोट मन्दिरसँगै सेन वंशीय राजाहरूको कोटका रूपमा परिचित मौलादेवी मन्दिर पनि यहाँको महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदा हो। पहाडी क्षेत्रका पुराना बस्तीका रूपमा परिचित तिल्केनी, बिहारी र इनार चुलीले पनि यस क्षेत्रको मौलिक पहिचानलाई थप समृद्ध बनाएका छन्।

पछिल्लो समय संसारकोटसहित आसपासका पहाडी बस्तीमा आन्तरिक पर्यटकको आवागमन बढ्न थालेको छ। विशेष गरी प्राकृतिक दृश्यावलोकन, शान्त वातावरण र पहाडी जीवनशैलीको अनुभव लिन चाहनेहरूका लागि यो क्षेत्र आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। यही सम्भावनालाई लक्षित गर्दै संसारकोट क्षेत्रमा हिल टुरिजमको अवधारणा पनि विस्तार हुँदै गएको छ।

बर्दघाट नगरपालिका–२ का वडाध्यक्ष गणेश क्षेत्रीका अनुसार यस क्षेत्रका विभिन्न बस्तीमा करिब ४५० घरधुरीमा दुई हजार १ सय हाराहारी जनसङ्ख्याको बसोबास छ। भौगोलिक रूपमा केही विकट भए पनि प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाका कारण यो क्षेत्र पर्यटन विकासको पर्याप्त सम्भावना बोकेको उहाँको भनाइ छ।

पर्यटनको विकासले यहाँको प्राकृतिक सुन्दरताको प्रचारप्रसार मात्र गर्ने छैन, स्थानीय बासिन्दाको आर्थिक जीवनस्तर सुधारमा समेत महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ। स्थानीय उत्पादन, कृषि उपज, मौलिक परिकार र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्न सके संसारकोट क्षेत्रका बासिन्दाले गाउँमै बसेर आम्दानी गर्ने अवसर पाउनेछन्।

यही सम्भावनालाई आत्मसात् गर्दै  संसारकोट क्षेत्रमा होमस्टे सञ्चालन गर्न सके पर्यटनको विकाससँगै सन्सारकोट आर्थिक समृद्धिको महत्वपूर्ण हिस्सा बन्न सक्छ । होमस्टे सञ्चालनमा आएमा बाहिरबाट आउने पर्यटकले स्थानीय संस्कृति, रहनसहन, खानपान र पहाडी ग्रामीण जीवनशैलीको प्रत्यक्ष अनुभव लिन पाउनेछन्। यसबाट स्थानीय उत्पादनको बजार विस्तार हुनुका साथै रोजगारी र स्वरोजगारका अवसरसमेत सिर्जना हुने अपेक्षा गरिएको छ।

तीनै तहका सरकारले आवश्यक पूर्वाधार, सडक, पर्यटन स्थलको संरक्षण तथा प्रवर्द्धनमा लगानी गर्न सके संसारकोटलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने आम बर्दघाटवासीकै अपेक्षा एवम् विश्वास छ।

संसारकोटको सम्भावना उजागर गर्न अब यसको प्राकृतिक सौन्दर्यको प्रचार मात्र पर्याप्त छैन। यहाँ पुग्ने सडकको स्तरोन्नति, पदमार्ग निर्माण, दृश्यावलोकन स्थल व्यवस्थापन, खानेपानी, सरसफाइ, सूचना बोर्ड, धार्मिक सम्पदाको संरक्षण र होमस्टे सञ्चालनलाई योजनाबद्ध रूपमा अघि बढाउन आवश्यक छ। स्थानीय समुदायलाई पर्यटन व्यवसायसँग जोड्दै उनीहरूको सीप र क्षमताको विकास गर्न सके पर्यटनबाट प्राप्त हुने लाभ गाउँमै पुग्न सक्छ।

इतिहासका पदचाप, धार्मिक आस्थाको विश्वास र प्रकृतिको अनुपम उपहार बोकेको संसारकोट यतिबेला आफ्नो नयाँ पहिचान निर्माणको सम्भावनामा उभिएको छ। तिनै तहका सरकारको आवश्यक पूर्वाधार र योजनाबद्ध लगानी जुटाउन सके बर्दघाटको यो पहाडी बस्ती आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य मात्र बन्ने छैन, स्थानीय समृद्धिको नयाँ आधारसमेत बन्न सक्छ।तर संसारकोटका योजना केन्द्र सम्म पुर्‍याउने ठोस पहल भने हुनु आवश्यक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button