खुम्बुमा तयार भयो पौने चार करोडको लगानीमा खानेपानी योजना
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ खरी खोलामा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले करिब पौने चार करोडको लगानीमा निर्माण भएको खानेपानी योजना सञ्चालनमा आएको छ ।

गाउँपालिकाका प्रत्येक नागरिकको घरघरमा स्वच्छ खानेपानी पुर्याउने तथा आगलागीजन्य विपद् व्यवस्थापनका लागि अग्नि नियन्त्रण प्रणाली जडान गर्ने योजनाअन्तर्गत खानेपानी योजनाको निर्माण गरिएको हो । खरी खोला खानेपानी योजनाअन्तर्गत स्किम ४ र ६ तथा स्किम ७ र ८ गरी दुईवटा योजना गाउँपालिकाले साझेदार संस्थासँगको सहकार्यमा सम्पन्न गरेको हो ।
स्किम ४ र ६ अन्तर्गतको योजनामा गाउँपालिकाको ७८ लाख ९८ हजार रुपियाँ, एक्सन फर नेपाल र हिमालयन आई प्रोजेक्टको ७९ लाख १५ हजार रुपियाँ तथा स्थानीय उपभोक्ता समितिको श्रमदान बापत चार लाख ६९ हजार रुपियाँ सहित कुल एक करोड ६२ लाख ८३ हजार रुपियाँ खर्च भएको छ ।
त्यसैगरी, स्किम ७ र ८ अन्तर्गतको योजनामा गाउँपालिकाको ३६ लाख ६ हजार रुपियाँ, एक्सन फर नेपालको ४६ लाख ६२ हजार रुपियाँ तथा स्थानीय उपभोक्ता समितिको श्रमदान बापत चार लाख ७५ हजार रुपियाँ गरी कुल ८७ लाख ४४ हजार रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
यसअघि खरी खोला खानेपानी योजनाका स्किम १, २, ३ र ५ का लागि गाउँपालिकाले एक करोड ४८ लाख रुपियाँ खर्च गरेको थियो । गाउँपालिकाका अनुसार खरी खोला खानेपानी योजनामा हालसम्म गाउँपालिकाको दुई करोड ६३ लाख ६५ हजार रुपियाँ तथा साझेदार संस्थाको एक करोड २५ लाख ७७ हजार रुपियाँ गरी कुल तीन करोड ८९ लाख ४३ हजार रुपियाँ खर्च भएको छ ।
खानेपानी योजनाबाट स्थानीय नागरिकको स्वच्छ खानेपानीमा पहुँच विस्तार हुनुका साथै योजनामा समेटिएको अग्नि नियन्त्रण प्रणालीले आगलागीजन्य विपद् व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताउनुभयो ।
आयोजना उद्घाटनका अवसरमा साझेदार संस्था एक्सन फर नेपालका कार्यकारी निर्देशक तथा गाउँपालिकाका सल्लाहकार लाक्पा थेरिङ शेर्पा, प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई, हिमालयन आई प्रोजेक्टका अध्यक्ष सर्जे क्युराट, परियोजना संयोजक ङिमा दोर्जी शेर्पा तथा रोटरी क्लब लुजान, स्विट्जरल्यान्डका प्रतिनिधि लगायतको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्