गृहमन्त्री गुरुङले गर्नुभयो गोरखाको बाढी प्रभावित चुमनुब्री क्षेत्रको निरीक्षण
बाढी प्रभावित नागरिकको उद्धार र पुनर्निर्माणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता

गोरखा । गृहमन्त्री सुधन गुरुङले आज बाढी तथा पहिरोबाट अति प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको छ।
आफ्नो गृह जिल्ला गोरखा आउनु भएका गृहमन्त्री गुरुङले उत्तरी गोरखाको विकट चुमनुब्री गाउँपालिका क्षेत्रको अवलोकन गर्नुका साथै त्यहाँका स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ।

हालैको बाढी पहिरोका कारण तातोपानी, दोभान तथा चुमनुब्री क्षेत्रमा पुगेको क्षतिको निरीक्षण गर्न पुग्नुभएका गृहमन्त्री गुरुङले प्रभावित नागरिकहरूसँग छलफल गर्दै उनीहरूको समस्या गम्भीरतापूर्वक सुन्नुभएको छ। भ्रमणका क्रममा उहाँले बाढीपीडित परिवारका लागि तात्कालिक राहत सामग्रीहरू समेत साथमै लिएर आउनुभएको थियो।

प्रभावित क्षेत्रका बासिन्दाहरूसँग कुराकानी गर्दै गृहमन्त्री गुरुङले सरकार बाढीपीडित नागरिकहरूको साथमा रहेको स्पष्ट पार्नुभयो। उहाँले बाढी प्रभावित नागरिकहरूको उद्धार, राहत वितरण र भग्नावशेषको पुनर्निर्माणका लागि राज्यले कुनै पनि कसर बाँकी नराख्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।

सडक सञ्जाल अवरुद्ध रहेको र भौगोलिक रूपमा विकट रहेको सो क्षेत्रमा तत्काल राहत र खाद्यान्न पुर्याउन तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित सुरक्षा निकाय र स्थानीय प्रशासनलाई गृहमन्त्री गुरुङले निर्देशन समेत दिनुभएको छ।








प्रतिक्रिया राख्नुहोस्