तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीबाट १४ लाख बढीको अवैध मदिरा बरामद

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाबाट भन्सार छली गरी नेपाल भित्र्याइएको ठूलो परिमाणको अवैध मदिरा प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार बुधबार बिहान करिब ४ बजेको समयमा  सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडक खण्डबाट ११ वटा हरियो ठूलो झोलामा राखेर ल्याइएको अवैध मदिरा बरामद गरिएको हो।

भारतबाट अवैध रूपमा भन्सार छली ल्याई ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङ, इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बरामद मदिरा विभिन्न प्रकारका ७५० मिलिलिटरका कुल ७४२ बोतल मदिरा बरामद गरिएको छ ।

प्रति बोतल दुई हजार रुपैयाँका दरले मूल्याङ्कन गर्दा बरामद मदिराको कुल मूल्य १४ लाख ८४ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मदिरा ओसारपसारमा संलग्नहरू भने नियन्त्रणमा न आएको सूचना अधिकारी मदन थापाले जानकारी दिनुभयाे । अवैध ओसारपसारको ट्रान्जिट पोईन्ट बनेको यस जिल्लामा चाडपर्व नजिकिए सँगै अवैध ओसारपसार बढ्ने गरेको छ । केही दिन अघि मात्रै सोही क्षेत्रबाट ११ लाख बढीको अवैध लत्ताकपडा बरामद भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button