बूढीगण्डकी बाढी अपडेट : ४५० जनाको उद्धार
गोरखा । उत्तरी गोरखाको चुमनुब्री–६ स्थित उङ्गिलुङ खोलामा पहिरो थुनिएर फुटेपछि बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीमा परेका तथा विभिन्न स्थानमा आवतजावत गर्नेको कुल सङ्ख्या ४५० पुगेको छ।
उद्धार टोलीले सोमबार १९१ जना र आइतबार हेलिकप्टरमार्फत ९६ जना गरी जम्मा २८७ जनाको उद्धार गरेको थियो। यसबाहेक, अदप फिल्मबाट आरुघाटतर्फ ८३ जना र आरुघाटबाट फिल्मतर्फ ८० जनाको आवागमन थप भएपछि यो कुल सङ्ख्या ४५० पुगेको हो।
चुम र नुब्री उपत्यकातर्फ अझै सयौँको सङ्ख्यामा पर्यटकहरू रहेकाले उनीहरूलाई यथाशीघ्र सुरक्षित स्थानमा पुर्याउन पहल भइरहेको जनाइएको छ। बाढी प्रभावित १४१ घरपरिवारलाई सोमबार र मङ्गलवार राहत सामग्री वितरण गरिएको छ।
धार्चे गाउँपालिकातर्फ अवरुद्ध बनेको बाटो खुलाउने काम तीव्र पारिएको छ। खोर्ला बेसीदेखि तातोपानी सम्म पैदल बाटो खुलाउन स्थानीय खटिएका छन् । गोरखा सडक योजनाका प्रमुख विनोद पुनका अनुसार माछाखोला सम्म साना सवारी साधन सञ्चालन भएका छन् ।
यसैगरी, आरुघाट र त्रिपुरासुन्दरी जोड्ने २५ मिटर लामो बेलिब्रिज जडानको काम सुरु भएको छ। हेटौँडाबाट सामग्री आइपुगे लगत्तै नेपाली सेनाको रुद्र ध्वज गणको प्राविधिक टोलीले काम थालेको हो ।







प्रतिक्रिया राख्नुहोस्