मौलिक संस्कृति संरक्षणमा हेटौँडाका वडाहरू सक्रिय
मकवानपुर । नेपालीहरूको महान् पर्व बडादसैँ तथा तिहारको अवसरमा लोप हुँदै गएको परम्परागत संस्कृति जोगाउन मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका वडाहरू सक्रिय बनेका छन् । आधुनिकतासँगै हराउँदै गएका रोटे तथा लिङ्गे पिङको संरक्षण र प्रवद्र्धनका लागि हेटौँडाका वडा कार्यालयहरूले विशेष पहल सुरु गरेका हुन् ।

यसै क्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ ले आफ्नै बजेट विनियोजन गरी परम्परागत रोटे पिङ निर्माण गरेको छ । विशेष गरी दशैँ–तिहारका बेला गाउँघरमा हालिने रोटे तथा लिङ्गे पिङ हराउन थालेपछि मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पिङ हालिएको वडाध्यक्ष सुकराम केसीले जानकारी दिनुभयो ।
लोप हुन लागेको पिङ हाल्ने परम्परालाई यस वर्षदेखि निरन्तरता दिइएको र पिङ सञ्चालनमा आएपछि स्थानीय बालबालिका, युवायुवती तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको केसीले बताउनुभयो । उक्त रोटे पिङ सञ्चालन तथा व्यवस्थापनको जिम्मा भने स्थानीय ओम टोल विकास संस्थालाई दिइएको छ ।
हेटौँडा–९ सँगै हेटौँडा–८ ले पनि मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले वडाभित्र लिङ्गे पिङ सञ्चालन गर्न औपचारिक सूचना नै जारी गरेको छ । वडा कार्यालयले वडाभित्र रहेका सम्पूर्ण मठमन्दिर, टोल विकास संस्था तथा सम्बन्धित समितिहरूलाई आ–आफ्नो टोल वा उपयुक्त सार्वजनिक स्थानमा परम्परागत लिङ्गे पिङ ठड्याएर सञ्चालन गर्न आग्रह गरेको छ ।
लिङ्गे पिङ नेपाली चाडपर्वको मौलिक पहिचान र पुस्तौँदेखि चलिआएको सांस्कृतिक परम्परा भएको उल्लेख गर्दै हेटौँडा–८ का वडाध्यक्ष राम थापाले भन्नुभयो, “यसको संरक्षणले आपसी भाइचारा, सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई हाम्रो मौलिक संस्कृति र परम्परासँग जोड्न महत्त्वपूर्ण योगदान पुर्याउँछ ।”








प्रतिक्रिया राख्नुहोस्