बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट ३ सय भन्दा बढीको उद्धार
गोर्खा । उत्तरी गोरखामा बूढीगण्डकी नदीमा आएको बाढीका कारण अलपत्र परेका स्थानीय तथा पर्यटकहरूको उद्धार कार्यलाई तीव्र पारिएको छ। उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ।

गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार सोमवार मात्रै ३ सय २१ जनाको सकुशल उद्धार गरिएको छ, जसमा १२ जना विदेशी पर्यटक समेत रहेका छन्।
‘आइतबारदेखि नै नेपाली सेनाका तीन वटा हेलिकप्टर उद्धार कार्यमा निरन्तर खटिएका छन्,’ प्रमुख जिल्ला अधिकारी मिश्रले भन्नुभयो, ‘नागरिक तथा पर्यटकहरू जहाँ फसेका छन्, त्यहीँ पुगेर हेलिकप्टरमार्फत उद्धार भइरहेको छ।’ उहाँका अनुसार आइतबार ९ जना विदेशीसहित ९६ जनाको उद्धार गरिएको थियो। उत्तरी गोरखाका जगत, दोभान, सल्लेरी, फिलिम लगायतका दुर्गम स्थानहरूबाट उहाँहरूको उद्धार गरिएको हो। मङ्गलवार पनि बिहानैदेखि उद्धारका लागि हेलिकप्टर उडान हुने उहाँले जानकारी दिनुभयो।
उद्धारसँगै बाढी प्रभावित क्षेत्रमा राहत वितरणको कार्यलाई पनि सँगसँगै अघि बढाइएको छ। उद्धारका लागि जाने हेलिकप्टरमै राहत सामग्री पठाउने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो। ‘उद्धारका लागि जाने हेलिकप्टरले राहत सामाग्री पुर्याउँछ र फर्कँदा अलपत्र परेका व्यक्तिहरूलाई ल्याउने गरेको छ,’ उहाँले थप्नुभयो।
बाढी प्रभावितहरूका लागि त्रिपाल, खाद्यान्न, औषधी, लाइट, सोलार, जेनेरेटर तथा लत्ताकपडा लगायतका अत्यावश्यक राहत सामग्री पठाइएको र प्रभावितहरूलाई वितरण भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
विभिन्न सङ्घसंस्थाबाट प्राप्त भएका राहत सामग्रीहरू आरुघाट बजारस्थित कभर्ड हलमा सङ्कलन गरी एकद्वार प्रणालीमार्फत बाढी प्रभावित क्षेत्रमा पुर्याइएको छ। सोमवार प्रमुख जिल्ला अधिकारी मिश्रसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले आरुघाट पुगेर उद्धार तथा राहत वितरण कार्यको प्रत्यक्ष निरीक्षण समेत गर्नुभएको छ।








प्रतिक्रिया राख्नुहोस्