मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ। हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ ।
असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो ।

सडक अवरुद्ध भएपछि यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ । उक्त सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ ।
यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्धका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले बताउनुभयो ।
अहिलेसम्म ७० प्रतिशत बजारमा पठाइसक्नुपर्नेमा ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको उहाँले बताउनुभयो । यहाँ उत्पादित स्याउमध्ये १० प्रतिशत मुस्ताङमै खपत हुने गरेको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ । गत वर्ष सात हजार मेट्रिक टन उत्पादन भएको थियो । उत्पादन वृद्धि भएकाले यस वर्ष झन्डै रु दुई अर्बको स्याउ बिक्री हुने उहाँको अनुमान छ ।
भारी वर्षाले अवरुद्ध बेनी—जोमसोम सडक मर्मतपछि सडक सञ्चालन भए पनि उक्त सडक पूर्ण रुपमा सहज भने अझै भइसकेको छैन । तर, यहाँका किसानले बजारमा स्याउको बिक्री गर्ने याम घर्किन लागेको हुँदा अहिले धमाधम स्याउ टिपेर बजार पठाउन थालेका छन् ।
मुस्ताङमा उत्पादित स्याउ हरितालिका तीजदेखि बडादसैँसम्म बजारमा बढी खपत हुन्छ । तर यसपालि बेनी–जोमसोम सडक लामो समयसम्म अवरुद्ध हुँदा मुस्ताङका किसान तथा स्याउ व्यापारीले यहाँ उत्पादित स्याउ बजार पठाउन सकेनन् ।
सडक सञ्चालन भएसँगै मुस्ताङका पाँचै स्थानीय तहमा उत्पादन भएको स्याउ धमाधम बिक्रीका लागि बजार पठाउन सुरु गरिएको छ ।
मुस्ताङको घरपझोङ–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मका व्यवस्थापक आइतराम तामाङका अनुसार बेनी–जोमसोम अवरुद्ध सडक सञ्चालन भएको दुई दिनमा छ ट्रक स्याउ काठमाडौँ पठाएको जानकारी दिनुभयो । उहाँका अनुसार ३० प्रतिशतमात्रै स्याउ बजार पठाउन सकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्