तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुमा भालुको बिगबिगी, दुई दिनमै दुई जना घाइते

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भालुको आक्रमणबाट दुई दिनमा दुई जना घाइते भएका छन् । 

घाइते हुनेमा सोलुदुधकुण्ड नगरपालिका–७ भित्ताखर्कका ४५ वर्षीय जङ्गबहादुर श्रेष्ठ र वडा नम्बर ५ रोशिकी २८ वर्षीया लाक्पा डोमा शेर्पा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार श्रेष्ठलाई आइतबार बिहान करिब ८ बजे जङ्गलमा आरा काट्ने क्रममा भालुले आक्रमण गरेको थियो । आक्रमणबाट उहाँको दाहिने कोखामुनि चोट लागेको छ ।

घाइते श्रेष्ठलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । यस्तै, सोमबार बिहान घरबाट सदरमुकाम सल्लेरीतर्फ जाने क्रममा घरनजिकैको बाटोमा शेर्पामाथि भालुले आक्रमण गरेको हो । आक्रमणबाट उहाँको दाहिने हात र कम्मरमा चोट लागेको छ । 

घाइते शेर्पाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो । पछिल्लो समय भालुको आक्रमणबाट दुई जना घाइते भएपछि स्थानीय बासिन्दामा त्रास बढेको छ । जङ्गल तथा आसपासका क्षेत्रमा आवतजावत गर्दा सावधानी अपनाउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button