तपाईँ सुन्दै हुनुहुन्छः

तमोर नदी किनारमा फसेका अर्जुन सरदारको सकुशल उद्धार

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ८ स्थित तमोर नदीको किनारमा ढुङ्गामाथि फसेका एक व्यक्तिलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय युवाहरूको सहयोगमा सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार सोमबार राति तमोर नदीको किनारमा एक व्यक्ति फसेको सूचना प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो ।

प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलमा पुगेर बुझ्दा रगुवा खोला क्षेत्रमा पुल निर्माण गर्दै आएको समिनारायण कन्स्ट्रक्सन प्रा. लि. मा कार्यरत कामदार नदीको किनारमा फसेको पाइएको थियो । स्थानीय युवाहरूको सहयोगमा वैकल्पिक बाटोबाट पुगेर मध्यराति उनलाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । 

उद्धार गरिएका व्यक्ति मोरङको ग्रामथान गाउँपालिका वडा नं. १ का २९ वर्षीय अर्जुन सरदार रहेको खुलेको छ । दसैँको बिदामा घर जान मुलघाटतर्फ निस्किने क्रममा उनी तमोर नदीमा पौडी खेलेर पारि तरेपछि बाटो नभेटेर अलपत्र परेको प्रहरीले जनाएको छ । उद्धारपछि सरदारलाई समिनारायण कन्स्ट्रक्सन प्रा. लि. का प्रतिनिधि शिव नारायण यादवको जिम्मा लगाइएको थियो । उद्धार कार्यमा धनकुटा नगरपालिका वडा नं. ८ घर भई हाल साँगुरीगढी गाउँपालिका वडा नं. ३ बस्ने ४९ वर्षीय सुमन राई र २५ वर्षीय सुरेश राई तथा साँगुरीगढी गाउँपालिका वडा नं. ३ निवासी ३१ वर्षीय आर्यन याख्खा र २५ वर्षीय दिनेश याख्खाले सहयोग गरेको प्रहरी नायब उपरिक्षक भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button