तपाईँ सुन्दै हुनुहुन्छः

बूढीगण्डकी बाढी: २८७ जनाको उद्धार, सडक खुलाउने र बेलिब्रिज जोड्ने काम तीव्र

गोरखा । उत्तरी गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीमा परेका २८७ जना नागरिकको सकुशल उद्धार गरिएको छ। उद्धार टोलीले सोमबार मात्रै १९१ जनाको उद्धार गरेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो।

यसअघि आइतबार बाढीमा फसेका स्थानीय बासिन्दा, विदेशी पर्यटक तथा जलविद्युत् आयोजनाका कर्मचारी गरी ९६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।

आइतबार बिहान चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरो खसेर थुनिएको पानी एक्कासि फुटेपछि बूढीगण्डकी नदीमा भीषण बाढी आएको थियो।

गाउँपालिका अध्यक्ष लामाका अनुसार चुम र नुब्री उपत्यकातर्फ अझै सयौँको सङ्ख्यामा पर्यटकहरू रहेका छन्। उनीहरूलाई पनि यथाशीघ्र उद्धार गरी सुरक्षित गन्तव्यमा पुर्‍याउने पहल भइरहेको छ। यस्तै, बाढीबाट प्रत्यक्ष प्रभावित ३१ घरपरिवारलाई सोमबार राहत सामग्री वितरण गरिएको छ।

यसैबिच, धार्चे गाउँपालिकातर्फ अवरुद्ध बनेको बाटो खुलाउने काम तीव्र पारिएको छ। आज साँझसम्म साना सवारी साधन सञ्चालन हुन सक्ने गरी बाटो खुलाउने प्रयास भइरहेको गोरखा सडक योजनाका प्रमुख विनोद पुनले बताउनुभयो।

उता आरुघाट र त्रिपुरासुन्दरी जोड्ने २५ मिटर लामो बेलिब्रिज जडानको काम पनि सुरु भएको छ। हेटौँडाबाट पुल निर्माणका सामग्री आइपुगेलगत्तै नेपाली सेनाको प्राविधिक टोलीले काम थालेको हो। आज र भोलिसम्ममा बेलिब्रिज जडान सम्पन्न गरी यातायात सञ्चालनमा ल्याइने नेपाली सेनाको रुद्रध्वज गणका गणपति विरोध रिजालले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button