तपाईँ सुन्दै हुनुहुन्छः

विज्ञापन क्षेत्रलाई स्वचालित उद्योगका रूपमा विकास गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

नेपाल विज्ञापन सङ्घ (आन)ले आज ललितपुरमा आयोजना गरेको १३औँ रेड बुल कृति अवार्डको लोगो सार्वजनिक कार्यक्रममा उहाँले विज्ञापन बजारको विकासका लागि क्षेत्रका समस्या, चुनौती र कमजोरीको निर्मम समीक्षा गरी समाधानका लागि ठोस पहल आवश्यक रहेको बताउनुभयो ।

मन्त्री डा. तिमिल्सिनाले विज्ञापन व्यवसायसँग मात्र नभई संस्कृति, राष्ट्रिय पहिचान, सञ्चारमाध्यम, लोकतन्त्र, सिर्जनशीलता र समग्र अर्थतन्त्रसँग जोडिएको क्षेत्र भएको उल्लेख गर्नुभयो । उहाँले विज्ञापन उद्योगको विकासले अर्थतन्त्रसँगै लोकतान्त्रिक अभ्यास र सञ्चार क्षेत्रलाई समेत सकारात्मक योगदान पुर्‍याउने बताउनुभयो ।

विज्ञापन क्षेत्र अपेक्षाअनुसार अघि बढ्न नसक्नुका कारण पहिचान गरी अवरोध र चलखेल हटाउन आवश्यक हस्तक्षेप गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विज्ञापन बोर्ड, विज्ञापन नीति तथा सरकारी सहजीकरणका विषयमा सरोकारवालाबीच खुला र आलोचनात्मक छलफल आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रविधिको विकाससँगै विज्ञापन बजारको स्वरूप पनि तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै मन्त्री डा. तिमिल्सिनाले आगामी पाँचदेखि १० वर्षमा नेपालको विज्ञापन उद्योगले लिनुपर्ने दिशा र प्रविधिको प्रभावबारे दीर्घकालीन नीति बनाउन सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

उहाँले विज्ञापन क्षेत्र कुनै व्यक्ति वा संस्थाको नियन्त्रणमा नभई आफ्नै क्षमतामा उभिन सक्ने स्वचालित उद्योगका रूपमा विकास गर्नुपर्ने बताउँदै सरकारले यसको महत्त्व बुझेको र आवश्यक सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

कृति अवार्डले नेपाली विज्ञापन बजारलाई पुनः ऊर्जाशील र जीवन्त बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले अवार्डमा व्यापक सहभागितामार्फत नेपाली विज्ञापन क्षेत्रको क्षमता र उपस्थिति उजागर हुने अपेक्षा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले विज्ञापनलाई खर्चका रूपमा नभई ब्रान्ड, उपभोक्ता विश्वास र दीर्घकालीन बजार मूल्य निर्माण गर्ने रणनीतिक लगानीका रूपमा लिनुपर्ने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले सरकारले निजी क्षेत्रलाई राजस्व सङ्कलनको क्षेत्रका रूपमा मात्र नभई अर्थतन्त्रको साझेदारका रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।

सञ्चार उद्यमी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाली विज्ञापन क्षेत्रमा सिर्जनात्मक कामको प्रशंसा गर्दै नेपाली अर्थतन्त्रलाई विज्ञापन क्षेत्रबाट थप उर्वर बनाउने उद्देश्यले विज्ञापन बजारको गुणात्मक विकासका लागि कृति अवार्ड स्थापना गरिएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button