तपाईँ सुन्दै हुनुहुन्छः

बेच्ने बेलाको केरामा रोग देखिएपछि नवलपरासीका किसान चिन्तित

नवलपरासी । केही समय अघिसम्म राम्रो बजार मूल्य पाएर उत्साहित बनेका पश्चिम नवलपरासीका केरा किसान अहिले बालीमा फैलिएको रोगका कारण चिन्तित बनेका छन् । 

प्रतापपुर र सुस्ता गाउँपालिकामा व्यावसायिक रूपमा लगाइएको केरामा ब्ल्याक सिगाटोका रोग फैलिएपछि ठूलो क्षेत्रफलमा क्षति पुगेको हो । केरा जोनका रूपमा विकास गरिएको यस क्षेत्रमा रोगको प्रकोप व्यापक देखिएको छ । 

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्रतापपुर र सुस्ता गाउँपालिकाका १ हजार ८२ हेक्टर क्षेत्रफललाई केरा जोन घोषणा गरी किसानलाई विभिन्न सहयोग उपलब्ध गराउँदै आइएको छ । तर, हाल उक्त क्षेत्रको खेतीयोग्य भूमिमध्ये करिब आधा क्षेत्रफलमा लगाइएको केरामा रोगको असर परेको परियोजनाले जनाएको छ ।

केरा बिक्रीका लागि तयार हुने समयमै रोग देखिएपछि किसानले अपेक्षित आम्दानी लिन नसक्ने अवस्था आएको छ । केराको पातमा सुरुमा साना थोप्ला देखिने र क्रमशः पात सुक्दै गएपछि बोट कमजोर हुने तथा फल समेत पूर्ण रूपमा विकसित नहुँदै पाकेर कुहिने समस्या देखिएको किसानहरू बताउँछन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, केरा जोनका प्रमुख शालिकराम पौडेलका अनुसार अधिकांश किसानको खेतमा ब्ल्याक सिगाटोकाको समस्या देखिएको छ । रोग नियन्त्रणका लागि आवश्यक विषादी सिफारिस गरिएको उहाँले बताउनुभयो ।

उखुको भुक्तानी समयमा नपाउने समस्याबाट हैरान भएका किसान पछिल्लो समय केरा खेतीतर्फ आकर्षित भएका थिए । भारतबाट केराको आयात रोकिएपछि नेपाली उत्पादनले राम्रो मूल्य पाउन थालेकाले किसान थप उत्साहित बनेका थिए । तर, रोगको प्रकोपसँगै उत्पादनमै क्षति भएपछि उनीहरूको उत्साह चिन्तामा परिणत भएको छ ।

केरा उत्पादक संघ नवलपरासीका अध्यक्ष लख्खु यादवले रोगका कारण बजारमा पठाउन तयार भएको केरा समेत क्षति हुन थालेको बताउनुभयो । भारतबाट आयात रोकिएपछि किसानले राम्रो मूल्य पाउन थाले पनि रोगका कारण बजार मूल्यसमेत प्रभावित भएको उहाँको भनाइ छ ।

किसान संजय मौर्यका अनुसार राम्रो मूल्यमा केरा बिक्री हुने अवस्था भए पनि रोगका कारण फल पूर्ण रूपमा तयार हुनुअघि नै बिक्री गर्नुपर्ने बाध्यता आएको छ । यसले किसानले अपेक्षा गरेको मूल्य पाउन नसकेको उहाँले बताउनुभयो ।

हाल किसानले प्रतिदर्जन २५ देखि ४० रुपैयाँसम्ममा केरा बिक्री गरिरहेका छन् । रोगका कारण उत्पादनमा कमी आउनुका साथै गुणस्तरमा समेत असर परेकाले आगामी दिनमा किसानको आम्दानी थप प्रभावित हुन सक्ने देखिएको छ ।

कृषि विज्ञहरूका अनुसार पानी पर्ने र घाम लाग्ने क्रमसँगै मौसममा बढी आर्द्रता हुने समयमा ब्ल्याक सिगाटोका रोगको प्रकोप बढ्ने गर्छ । ढुसीजन्य यो रोग नियन्त्रणका लागि समयमै रोग पहिचान गरी खेतको सरसफाइ, प्रभावित पात व्यवस्थापन तथा सिफारिसअनुसार विषादी प्रयोग गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button