तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला सञ्चालन 

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाको स्थापना भई परीक्षण कार्य सुरु भएको छ । सोमबार आयोजित पत्रकार भेटघाटमा बागमती प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले प्रयोगशाला सञ्चालनमा आएको जानकारी दिनुभयो । 

प्रहरी नायव महानिरीक्षक रेग्मीले देशको चौथो विधि विज्ञान प्रयोगशालाका रुपमा हेटौँडा–११ थाना भर्‍याङस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा स्थापना गरिएको जानकारी दिनुभयो । यसअघि काठमाडौँ, धरान र नेपालगन्जमा यस्ता प्रयोगशाला सञ्चालनमा रहेको उहाँले बताउनुभयो । करिब १२ करोड रुपैयाँको लागतमा निर्माण गरिएको प्रयोगशाला गत भदौ २२ गतेदेखि सञ्चालनमा आएको हो । 

प्रयोगशाला सञ्चालनमा आएसँगै अपराध अनुसन्धानका क्रममा सङ्कलन गरिएका प्रमाणको परीक्षण अब हेटौँडामै हुने भएको छ । उहाँका अनुसार हेटौँडाको प्रयोगशालाबाट देशभर बरामद हुने लागुऔषधका करिब ४० प्रतिशत नमुना परीक्षण गर्न सकिनेछ । प्रयोगशाला सञ्चालनले अनुसन्धानसँगै न्याय सम्पादनको प्रक्रियालाई समेत थप प्रभावकारी बनाउने उहाँको भनाई छ । 

प्रयोगशालामा लागुऔषध, डिएनए तथा जबर्जस्ती करणी लगायतका मुद्दामा आवश्यक नमुना परीक्षणका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता घट्ने प्रहरी नायब महानिरीक्षक रेग्मीले बताउनुभयो । लागुऔषध, जबर्जस्ती करणी तथा डिएनए परीक्षणको प्रतिवेदन आउन समय लाग्दा अनुसन्धान र अदालतको फैसला प्रक्रियासमेत प्रभावित हुँदै आएको थियो । 

हेटौँडाको प्रयोगशालाले बागमती प्रदेशका मकवानपुर, चितवन र सिन्धुली तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाहीबाट पठाइने नमुना परीक्षण गर्नेछ । प्रयोगशाला प्रमुख मोहनसिंह धामीका अनुसार सम्बन्धित जिल्लाबाट बरामद वस्तु वा आवश्यक नमुना तीन दिनभित्र प्रयोगशालामा पठाउनुपर्नेछ । प्रयोगशालाले परीक्षण सम्पन्न गरी अधिकतम १० दिनभित्र सम्बन्धित जिल्लामा प्रतिवेदन पठाउने कार्यतालिका बनाएको छ । यससँगै प्रदेशका विभिन्न जिल्लामा हुने अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको प्रयोग बढ्नुका साथै अनुसन्धान तथा न्यायिक प्रक्रियामा हुने अनावश्यक ढिलाइ कम हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button