बकैयाको ज्यामिरमा भू-क्षय र पहिरोको उच्च जोखिम: बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था
मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ स्थित ज्यामिर क्षेत्रमा भू–क्षयका कारण स्थानीय बस्ती उच्च जोखिममा परेको छ । साबिक हटिया गाउँ विकास समिति, वडा नम्बर ८, छतिवन मोरङेधापदेखि फैलिएको करिब २ वर्ग किलोमिटर क्षेत्रमा जमिन फाट्ने र भासिने क्रम बढेपछि त्यहाँका बासिन्दाहरू बिचल्लीमा परेका छन् ।

मुख्यतया तामाङ, माझी र विक (दलित) समुदायको बाक्लो बसोबास रहेको यस क्षेत्रमा गत असोज ११ गते यो घटना भएको हो र निरन्तर जमिन भासिने क्रम जारी रहेको छ । करिब ३० वर्षभन्दा बढी समयदेखि वन फडानी गरी बसोबास गर्दै आएका उनीहरूको पछिल्लो प्राकृतिक विपद्ले पुस्तौँदेखि बसोबास गर्दै आएको ठाउँबाट उठिबास लाग्ने भएको छ । दसैँ तिहार जस्तो चाडपर्वको मुखैमा घरभित्रै चिरा पर्ने र रातको समयमा डरले सुत्नसमेत नसक्ने अवस्था सिर्जना भएको स्थानीय गोपिनी विश्वकर्माले बताउनुभयो । “घरमा चारैतिर पहिरो गएर जोखिम बढेको छ । एक्लो महिला, छोराहरू पनि टाढा छन्, रातदिन कसरी ज्यान बचाइरहेका छौँ, हामीलाई नै थाहा छ । सरकारले हामीलाई छिटो सुरक्षित ठाउँमा स्थायी बसोबास मिलाइदिए हुन्थ्यो ।“ उहाँले भन्नुभयो ।
स्थानीय तहका अनुसार यस विपद्बाट १६ वटा घर पूर्ण रूपमा प्रभावित भएका छन् । भने, करिब ८५ घर बसोबास गर्न योग्य छैन । तीमध्ये २–३ घरपरिवार मात्र आफन्तको आश्रयमा बसेका छन् भने बाँकी प्रभावित परिवारहरू स्थानीय विद्यालयमा आश्रय लिएर रात बिताउन बाध्य छन् । यसअघि पनि वि.सं. २०५८, २०६३ र हाल २०८३ सालमा समेत यस क्षेत्रमा यस्तै किसिमका पहिरो तथा भू–क्षयको समस्या आएको स्थानीयले बताएका छन् ।
घटना लगतै प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूले उक्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ । सो क्रममा उहाँहरूले उक्त क्षेत्रमा बस्न उपयुक्त नरहेको निष्कर्ष निकालेको छ । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार अहिले करिब १२ फिट जमिन तल धसेको छ । “करिब २ वर्ग किलोमिटर एरिया झुजा–झुजा भएको छ, स्थानीय बासिन्दाहरू रातिको समयमा स्कुलमा जानुभएको छ । तर यहाँ मानव बस्न योग्य छैन र यस विषयमा प्राविधिक हिसाबले माथिल्लो निकयसंग छलफल भइरहेको छ । उहाँले भन्नुभयो ।
यता बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले नागरिकको जीवन रक्षा र सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभएको छ । उपाध्यक्ष खत्रीले भन्नुभयो, “यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ? नागरिकको जन धनको सुरक्षा कसरी गर्न सकिन्छ? यो विषयमा सबै निकायहरू लाएर जनतालाई चाहिँ सुरक्षित स्थानमा बसोबास गर्ने वातावरण बनाउनको निम्ति स्थानीय तहको सरकारले खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने कुरा विश्वास दिलाउन चाहन्छु ।”
यस्तै वडाध्यक्ष फुलमान भोम्जनले वर्तमान भौगोलिक स्थितिका कारण यो ठाउँ मानव बस्तीका लागि पूर्ण रूपमा असुरक्षित र बसोबास गर्न उपयुक्त नरहेको बताउनुभयो । वडाध्यक्ष योन्जनले प्रभावित परिवारहरूको तत्कालीन व्यवस्थापनका लागि विद्यालयमा राखिएको जानकारी दिँदै दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थायी बसोबास तथा पुनर्स्थापनाका लागि जिल्ला प्रशासन कार्यालय र अन्य निकायहरूसँग समन्वय र पहल भइरहेको बताउनुभएको छ ।
पीडित नागरिकहरूले पनि अब छिटोभन्दा छिटो जोखिमयुक्त बस्तीको स्थायी समाधान खोज्दै सुरक्षित स्थानमा व्यवस्थित पुनर्स्थापना र राहतको माग गरेका छन् । दसैँ नजिकिँदै गर्दा आएको यो विपद्ले ज्यामिरका बासिन्दालाई थप त्रसित बनाएको छ । पीडित नागरिकहरूले सरकार तथा स्थानीय प्रशासनबाट छिटोभन्दा छिटो सुरक्षित स्थानमा स्थायी बसोबास, उचित राहत र व्यवस्थित पुनर्स्थापनाको माग गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्