तपाईँ सुन्दै हुनुहुन्छः

‘सिप अतिरिक्त योग्यता मात्र नभई समाज र राष्ट्रिय समृद्धिको मूल आधार’

काठमाडौँ । सभामुख डोरप्रसाद अर्यालले आजको युगमा सिप कुनै अतिरिक्त योग्यता मात्र नभई समाज र राष्ट्रिय समृद्धिको मूल आधार भएको बताउनुभएको छ। 

सिपलाई बजारसँग, श्रमलाई अवसरसँग र जनशक्तिलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयले पूर्वको व्यावसायिक केन्द्र इटहरीमा आयोजना गरेको ‘सिप तथा रोजगार मेला २०८३’ लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

​नेपालको कुल जनसङ्ख्याको ६० प्रतिशतभन्दा बढी हिस्सा श्रमयोग्य उमेर समूहमा रहेको उल्लेख गर्दै सभामुख अर्यालले यति ठूलो सङ्ख्यामा कार्यसम्पादन गर्न सक्ने जनशक्ति हुनु देशका लागि असाधारण जनसाङ्ख्यिक लाभांश र अवसर भएको बताउनुभयो। तर, आन्तरिक बजारको माग र उपलब्ध जनशक्तिको सिपबिच सही तालमेल हुन नसक्दा नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो। 

एकातिर स्वदेशी युवाहरू रोजगारीका लागि बाहिरिनुपर्ने र अर्कोतिर स्थानीय रोजगारदाताहरूले आवश्यक सिपयुक्त जनशक्ति नपाएर विदेशी कामदार भित्र्याउनुपर्ने विरोधाभासपूर्ण अवस्था कायम रहेको उहाँको भनाइ थियो।

​संविधानले प्रत्येक नागरिकलाई सुनिश्चित गरेको रोजगारी र श्रमसम्बन्धी मौलिक हकलाई व्यवहारमा उतार्न यो मेला महत्त्वपूर्ण कडी हुने विश्वास व्यक्त गर्दै सभामुख अर्यालले रोजगारदाता र रोजगार खोजीबिच साझा मञ्च खडा गरी आन्तरिक रोजगारीका सम्भावना विस्तार गर्न यो अभियान सुरु गरिएको स्पष्ट पार्नुभयो। 

​तीनै तहका सरकार (सङ्घ, प्रदेश र स्थानीय), निजी क्षेत्र तथा विकास साझेदारहरूको समन्वयात्मक प्रयासबाट मात्र आन्तरिक रोजगारीलाई भरपर्दो विकल्पका रूपमा स्थापित गर्न सकिने धारणा राख्दै सभामुख अर्यालले यस कार्यक्रमको महत्त्व व्यापक रूपमा प्रवाह गरिदिन सञ्चारकर्मीहरूसँग आग्रह गर्नुभयो। 

युवा, श्रम तथा रोजगार मन्त्रालय, कोशी प्रदेश सरकार, इटहरी उपमहानगरपालिका, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निजी क्षेत्रको सहयोगमा आयोजित यस मेलाले युवालाई केवल रोजगारी खोज्ने मात्र नभई सिपयुक्त, उत्पादनशील र स्वतः रोजगारी सिर्जना गर्न सक्षम बनाउन टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button