तपाईँ सुन्दै हुनुहुन्छः

कोप–३१ मा हिमशृङ्खला संरक्षणको मुद्दा उठाउनुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ मा हिमशृङ्खला संरक्षण र जलवायु न्यायका मुद्दा उठाउनुपर्नेमा जोड दिनुभएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका कारण पग्लिँदै गरेका हिमशृङ्खला र बढ्दो हिमतालको जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त सुनिश्चित गर्नुपर्ने बताउनुभयो । 

सांसदहरुले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ मा नेपालको हिमाली एजेन्डा प्रभावकारी रूपमा उठाउने, जोखिमयुक्त हिमतालको निरीक्षण गर्ने तथा विपद् पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनुपर्ने औँल्याउनुभयो । 

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले कोप–३१ मा भोटेकोशी–त्रिशूली क्षेत्रको पुनर्निर्माण तथा प्रभावित १३ जलविद्युत् आयोजनाका लागि जलवायु लगानी र अनुकूलन वित्त सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । 

यस्तै कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले हरित अर्थतन्त्र, विद्युतीकरण, स्वच्छ ऊर्जा तथा उत्थानशील सहर र समुदाय विकाससँगै हिमाली मुद्दामा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो ।

बैठकमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक डा. नारायणप्रसाद अधिकारीले वातावरण संरक्षणका लागि स्वच्छ चुलो प्रवद्र्धन, उद्योगमा खनिज इन्धनको प्रयोग घटाउँदै विद्युतीय तथा जैविक ऊर्जातर्फ रूपान्तरण र फोहोरबाट बायोग्यास उत्पादनका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button